२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

फेसबुक

टीका बस्नेत

आज लामो समयपछि फेसबुक खोलेको छु । साथीहरुले पठाएका म्यासेजहरु एकएक गरी पढ्दै अगाडि बढिरहेको छु । मप्रति धेरैकोे गुनासो हुन्छ–सन्देशको प्रतिउत्तर नदिएको मा । हुन पनि हो करीव दुई महिना अघिदेखि म सम्पर्कविच्छेदको अवस्थामा रहेको छु, फेसबुकको संसारबाट । सन्देश मात्र होइन धेरै साथीहरुले मलाई साथी बनाउनका लागि अनुरोध गर्नुभएको पाउँछु म । चिनेजतिका साथीहरुको अनुरोध स्विकार्छु, अनि अगाडि बढ्छु । यस्तैमा अप्रत्यासितरुपमा एउटा लेखाइमा मेरा आँखा टक्क अडिन्छन्, जहाँ लेखिएको हुन्छ–‘मेरो कथा, मेरो व्यथा ।’

खोल्छु उक्त सामग्रीलाई, अनि सरसरति पढ्दैजान्छु । जतिजति पढ्दै अघि बढ्छु, उतिउति उकुकसमुकुस परिवेशभित्र धकेलिँदै जान्छु म । रोमा लेखिएको छ उसको नाम । ऊ कहाँकी हो ? उसको लेखाई सत्य हो या असत्य । त्यो त मलाई थाहा छैन र पनि लेखाई मर्मस्पर्शी छ । जसको जीवनको यात्रा काँडैकाडाको बीचबाट अगाडि बढेको छ । २२ वर्षे लक्काजवानी अवस्थामा धेरै हण्डर खाएकी छे उसले । यो समाजको सिकार भएकी छे ऊ । रोग, भोक र अभावबाट पिल्सिँदै–पिल्सिँदै अगाडि बढ्दैछे ऊ ।

बुबाको काखमा लुडिबुडी खेल्ने अवस्थामा बुबाको माया जानी नसक्दै बुबाको मृत्यु भोगेकी ऊ आमाको काखमा हुर्कदै आउँदा धेरै समस्याका पर्खालहरु ऊसामू तेर्सिन आइपुगेका छन् । अनगिन्ती चोटहरुले उसको छाति छियाछिया भइसकेको छ । सभ्यताभित्र चुर्लुम्म डुबेको एक्काइसौं सताब्दीको स्वार्थी परिवेशभित्र आफूलाई मोलमोलाइको परिवेशभित्रैबाट गन्तव्य चुम्ने लक्ष्य निर्धारण गरेकी छे ऊ । उसको विगत असाद्धै सुखमय थियो रे । बाबाको नोकरीबाट आउने रकमको छेलोकाटो गरेरै भएपछि हुर्काउनुभएकै थियो रे उसकी आमाले उसलाई । तर, आज ऊ असहाय छे । हरेक चोकचोक चहार्दैमा उसका दिनहरु बित्ने गर्दछन् । कहिले यताको चोक, कहिले उताको । उसलाई नै थाहा छैन रे आखिर ऊ किन यस्ती भई । ऊ आफै भन्छे–‘म किन यस्ती भएँ ।’

पढ्दै जाँदा उसलाई उसको परिवारले बिबाह गरिदिएको थियो रे–कुनै सम्पन्न भनाउँदो घरमा । मानवीय समवेदना हराएको सभ्य भनाउँदो घरमा ऊ लामो समयसम्म रहन सकिन रे । दिनरातको टोकेसो, रक्स्याहा श्रीमान्, आडम्वरी स्वभाव भएका त्यो घरका मान्छेहरुको स्वभावलाई जवर्जस्त सहेर बस्दा पनि त्यस घरमा बस्न सकिन रे ऊ । यो कस्तो जहाँ मानवीय समवेदनालाई धन, पैसा र पहुँचसँग तुलना गरिन्छ । आखिर किन यस्तो गर्छ चेतनशील भनाउँदो मानिसले । किन उसको परिवारले ऊप्रति त्यस्तो व्यवहार ग¥यो होला ? धन दाइजोका लागि ? पढ्दै जाँदा मलाई यस्तै लागेथ्यो । सायद् उसको माइतीले धेरै दाइजो दिन सकेन होला, त्यसैले उसलाई दाइजो कम ल्याई भनेर मानसिक तनाव दिने काम सुरु ग¥यो होला उसको परिवारले । यथार्थमा यस्तो रहेनछ । ऊ पढ्दैथिई रे व्याचुलर दोस्रा ेवर्षमा । तर, उसका श्रीमान् १२ कक्षा उत्तीर्ण गर्न नसकेर त्यत्तिकै थन्केर बसेको अवस्थामा एकदिन भट्टिमा जाँड खाँदै गर्दा एकजनाले उनलाई भनिदिएछ–‘साले ज्यादा फुर्ति लाउँदो रैछ । स्वास्नीका जति पनि पढ्न नसक्नेले हामीसँग धेरै जोरी खोज्ने । सक्छस् भने तेरी स्वास्नीको जति पढेर देखान ।’

त्यसरातको भट्टीकाण्डपछि उसलाई बारम्बार पढाइ छाड्न धम्की आउन सुरु गरेछ । पढेर ठूलो मान्छे बन्ने दृढ संकल्प बोकेकी उसका लागि पढाइ छोड्नु सजिलो थिएन । एकमनले भन्थ्यो रे छोडिदिन्छु पढाइ । तर, उसको अर्को मनले कहाँ मान्थ्यो र । जबजब पढाइ छोड्ने विचार उसको मनमा उब्जन्थ्यो, त्यतिबेला उसले सम्झन्थी बाबालाई जसले छोरीलाई देशको उच्च नागरिक बनाउँछु भन्थे, अनि सम्झन्थी आमाले आफूलाई पढाउन गर्नुभएको मिहिनेत र परिश्रमलाई । पढाइ छोड्ने मनसायमा पुगेकी ऊ यो सब सम्झेर जसरी भए पनि पढाइलाई निरन्तरता दिने निश्कर्षमा पुग्थी रे । तर, कहाँ सजिलो हुन्थ्यो र उसलाई श्रीमान्को उर्दी नमाने पछि उसमाथि दिनरात बर्सिन थालेछन्, बुटहरु, लाठी अनि बेल्टका झटाराहरु । के गरोस् विचरी यो समाज बलियाहरुको हो । निर्धाले यहाँ राम्रोसँग खानसमेत नपाउने सामाजिक प्रचलनभित्र ऊसँग सबैभन्दा उत्तम बिकल्प भनेको हरेक कुरालाई जसरी–तसरी सहेर बस्नु नै थियो, रत हरेक चोटहरु सहेरै भए पनि बसेकै थिई रे त्यो नरककुण्डमा । जुन कुरासँग ऊ डराउँथी, त्यो परिस्थिति पनि उसका सामु आइपुगेछ । एकरात ऊ मस्तसँग सुतिरहेको समयमा उसको रक्स्याहा श्रीमान् उसको घाँटी अँठ्याएछ । आफ्नो उर्दी नमानेर आफूले दिएका हरेक सजायहरुलाई सहर्ष स्विकारेको देखेर ऊ श्रीमतीलाई मार्ने निश्कर्षमा पुगेछ । रत अठ्याएको रहेछ उसको घाँटी । मस्त निन्द्रामा रहेको समयमा एकाएक कसैले घाँटी अठ्याएपछि बाँच्ने उसले धेरै प्रयत्न गरिछ, तर नसके पछि हिर्काइछ नजिकै रहेको बियरको बोतल उठाएर घाँटी अठ्याउने व्यक्तिको ठाउकामा । भागीछ ढोका खोलेर बाहिर र बचाइछ आफूलाई ।

ऊ पढाउँथी रे बोर्डिङ स्कूलमा । तलब पनि आकर्षक नै थियो रे । उसले जिल्लाको नामुद स्कूलमा पढाउने भएको हुँदा पनि तलव राम्रो हुनु स्वभाविकै थियो । त्यसमा पनि अर्को स्कूलमा समेत पार्टटाइमा पढाउँथी रे ऊ । ऊ चाहन्थी आफ्नो पारिवारिक भविष्य उज्ज्वल बनाउन । कहाँ बुझ्थ्यो र स्वार्थैस्वार्थको जालोभित्र जेलिएको उसको परिवारले ती सब कुरा । हरेक गर्दा पनि श्रीमतीले पढाइ छाड्ने छाँट नदेखेपछि श्रीमानले स्नातक दोस्रोवर्षको भरेको परीक्षा फाराममा भएका केही विषयहरु काटेर पढाइदिएछ, एकपटक कल्पना गर्नुहोस् त । कस्तो भयो होला बिचरीलाई परीक्षा गर्न गएको समयमा परीक्षा गर्न नपाएर घर फर्केर आउनुपर्दा । सायद् चाहेको भए सक्थी होला उसले क्याम्पसको परीक्षा फाँटमा रहेका कर्मचारीको बिरुद्धमा मुद्दा हाल्न । तर, चाहिन रे यी सब गर्न । बिचरी युद्ध हारेको सिपाहीजस्तै गरी न उत्साह, न उमङ्ग, नत जोस जाँगर सबैै हराएको जीवन हरुवा मान्छे झैं फगत सुन्यताभित्र रुमल्लीँदै फर्किथी रे घरतर्फ । जुनदिन परीक्षा दिन नपाएर फर्किइथी, त्यसैदिन उसले त्यो घर र त्यस घरसँग जोडिएका सबै नातासम्बन्धलाई सदासदाका लागि त्यागेर नयाँ यात्रा गर्ने अठोट संगालेकी थिई रे । समय बित्दै जान्छ, ऊ केही समयपछि आमा बन्छे, अर्थात् एउटी छोरीलाई जन्म दिन्छे ।

उसले एक्लै यात्रा थालेको आज पुरापुर २ वर्ष बित्नै आँटेको छ रे । तर, पनि ऊ हारेकी छैन रे–समयसँग, समाजसँग अनि उसको जिन्दगी छिनालिदिने रक्स्याहा श्रीमान्सँग । सबसँग पैंठेजारी खेल्दै छोरीको भविष्य निर्माण गर्न चाहन्छे ऊ । उसले हालसम्म पढाइ अगाडि बढाएकै छे । जुन पेशा हिजो थियो, त्यो शिक्षण पेशालाई पनि हालसम्म निरन्तरता दिँदैछे रे । हारेकी छैन रे । यो समाजलाई पाठ सिकाउन चाहन्छे रे ऊ–‘महिलाहरु पनि केही गर्न सक्छन् ।’

सरसरती पढ्छु, फेसबुकमा अलपत्र अवस्थामा रहेको यो मर्मस्पर्शी एउटी चेलीको कथा भनौं या व्यथालाई । म चिन्दिनँ उनी को हुन् ? कहाँ बस्छिन् उनी ? जान्न धेरै कोशीस गरेँ उनको बारेमा । मेरो प्रोफाइलभित्र कैद भएको उनको परिचयलाई हरेक कोणबाट नियाल्ने लाख प्रयास गरेँ । उनको ठेगाना खुट्याउन कोशिस गरेँ । तर, सफल हुन सकिनँ, किनकि उनको प्रोफाइलमा केवल नाममात्र लेखेको पाउँछु । उनको यथार्थताका बारेमा जानकारी पाउन नसकेकोमा मन साह्रै खिन्न हुन पुग्छ । उनी जोसुकै होउन्, जहाँसुकै बसुन् । र पनि उनी रहेको समाजलाई धिक्कार्न मन लाग्छ । अनि धिक्कार्न मन लाग्छ उनको पति भनाउँदो नरपिसाचलाई । आफ्नाहरुले आफ्नाहरुको भविष्य बनाउने हो । तर, उसले त बिगारेस् आफ्नै श्रीमतीको भविष्य ।

मनभित्र थुप्रै भावनाका बौछारहरु छताछुल्ल भएर पोखिने अवस्था पुग्छन् । म बसेको ठाउँबाट उठेर फतफताउन थाल्छु । ए निच तैँले किन यस्तो कार्य गरिस् । फक्रदै गरेको कोपिलालाई बीचमै चुँडालेर फालिदिइस् । अहिले त शक्तिमा छस्, तँसँग हरेक चिज छ । धन, सम्पत्ति, बल, पहुँच । यी सबैले भरिपूर्ण तँ कुनैदिन यसरी झस्कने छस् । यसरी फस्नेछस् कि जहाँबाट तँलाई निकाल्न तेरो भगवानले पनि सक्नेछैन । तैँले जीवनमा यति ठूलो अन्याय गरेको छस् कि जुन अन्याय कुनै समयमा भगवान कहलिएका रामले गरेका थिए । तैँले रामायण त के पढेको होलास् र दिनरात रक्सीको नसामा चुर्लुम्म डुब्ने तँजस्तालाई फुर्सद पनि कहाँ पो हुँदो हो र । सुन् जसरी हिजो रामले एउटा जँड्याहा धोवीको कुरो सुनेर गर्भवति अवस्थामा रहेकी श्रीमति सीतालाई बीच वनमा अलपत्र अवस्थामा छोडेर आफू दरवारमा फर्केका थिए, त्यसरी नै तैँले पनि जाँड खाने क्रममा तेरो भलो नचाहने ती जँड्याहा तेरा साथीहरुको लहैलहैमा लागेर तँलाई आफूलाई भन्दा पनि ज्यादा माया गर्ने श्रीमतिको भविष्य चकनाचुर बनाइस् होइन । याद राख् राम जो भगवान कहलिएका थिए । उनीसँग धेरै शक्ति थियो, र पनि अन्त्यमा पश्चातापमा जलेर उनको जीवनको अन्त्य भएको थियो भने तँ त भुसुनो होस्, मानुद जँड्याहा होस् । त्यसैले समय छँदै जोसलाई होसमा बदलेर अगाडि बढ्नुमा नै तेरो बुद्धिमानी हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?