२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

संविधान निर्माण र कार्यान्वयनमा सफलता

आजबाट हाम्रो आठौं पाइला सुरु भएको छ । दाङ सूचना तथा अध्ययन केन्द्र प्रालिद्वारा सञ्चालित मेचीकाली अनलाइनले सातौं वर्ष पुरा गरेको खबर यहाँहरुमाझ सुनाउन पाउँदा हर्षको सीमा छैन । २०७२ साल साउन २ गते अर्थात् आजैको दिनबाट सुरु भएको हाम्रो पहिलो पाइला यहाँसम्म आई पुग्दा गन्तव्य मुखरित बन्दै गएको हाम्रो बुझाइ रहेको छ । आठौं वर्ष प्रवेशको सुखद् अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाताप्रति नमन गर्न चाहन्छौं । यहाँहरुले हामीप्रति देखाउनुभएको माया, ममता, सौहार्दताको उपलब्धी हो हाम्रो–सातवर्ष ।

अस्थिर राजनीतिको जञ्जालभित्र मुलुक जेलिदै गएको समयमा थालिएको हाम्रो यात्रा पक्कै पनि सुखद् थिएन । संविधान जारी गर्न दबाब सिर्जना गर्ने मिसन बोकेका हाम्रा माझ मोफसलको अनलाइन पत्रकारितालाई व्यवसायिक र व्यवस्थित बनाउनु ठूलै चुनौति थियो । यसमा पनि विश्वसनीय सामग्री पस्कन्छौं भन्ने संकल्प पुरा गर्न हामीलाई झन् चुनौति थियो र पनि सक्रियता, निरन्तरता र इमान्दारिताको जगमा उभिएर हामीले हरेक चुनौतिको सामना मात्र गरेनौं सुखद् गन्तव्यका लागि थुप्रै मार्ग निर्माण गर्न भ्याएका छौं भन्दा हर्षले गद्गदिएका छौं । यसबीचमा हामीले आफ्नो पहिचान निर्माण गरेका छौं । संविधान निर्माणका लागि खबरदारी गरेका हामीले संविधान कार्यान्वयनका लागि पनि उत्तिकै भूमिका खेलेका छौं । अझ भनौं टिठलाल्दो अवस्थामा रहेको मोफसलको अनलाइन पत्रकारितालाई मुलधारको पत्रकारिताकारुपमा स्थापित गराएका छौं भन्ने हाम्रो बुझाइ रहेको छ ।

‘मेची’ र ‘महाकाली’ मुलुकका दुई आधारस्तम्भलाई संयोजन गरी ‘मेचीकाली अनलाइन’ नामाकरण गरी यात्रा थालनी गरेका हामीले आफूलाई नामजस्तै व्यवहार प्रदर्शन गर्दै आएका छौं । मुलुकभरका सामग्री हाम्रा प्रकाशनका माध्यम बन्ने गरेका छन् । पत्रकारिताका मूल्य र मान्यतालाई आत्मसात गर्दै हामीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकारका मूल्य मान्यताको रक्षाका लागि कहिल्यै घुँडा टेकेनौं र टेक्ने छैनौं पनि । बरु बाटो बिराउँदै गएको मुलुकको अनलाइन पत्रकारितालाई सही दिशा प्रदान गर्न लागिरह्यौं । दुरदराजका कथा बाचिरह्यौं । सहर भन्दा धेरै वरवरसम्मका सामग्री पछ्याएनौं मात्र गाउँ छाडेकाहरुको गाउँ पढ्ने माध्यम बनिरह्यौं । जो क्रम जारी नै छ ।

मेचीकाली अनलाइन–सक्रियता, निरन्तरता र इमान्दारिताको प्रतिक हो । सातवर्ष हाम्रा लागि सिकाइको वर्ष पनि बने । दाङ खबर डटकमबाट पहिलो पाइला चालेका हामी प्राविधिसँग पराजित भयौं र दाङ खबर डटकमकै मुहारलाई मेचीकाली अनलाइन नामाकरण गरी बाँकी पाइला अगाडि बढाउँदै यहाँसम्म आइपुगेका छौं । हाम्रो यात्रा जारी रहनेछ । हाम्रा संकल्प पुरा भएका छैनन् । संविधानको पूर्ण कार्यान्वयन हुन सकेको छैन । लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका मूल्य मान्यताको रक्षा गर्नुपर्नेछ । अनलाइन पत्रकारिताभित्रका बिकृतिहरु ज्यूका त्यू छन् । यस्तो अवस्थामा हामी अझ सम्हालिएर अगाडि बढ्नुपर्ने महसुस भएको छ । छिटो, छरितो र प्रभावकारी ढंगले विश्वसनीय सामग्री सम्प्रेषण गर्नपर्नेछ । यी र यस्तै विषयमा मेचीकाली अनलाइनको आगामी यात्रा केन्द्रीत हुनेछ भन्ने प्रतिबद्धता जाहेर गर्दछौं । अन्त्यमा देशविदेशमा रहनुहुने पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दै सातौं वार्षिकोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?