२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

कृषकको पीडा : असारमा मल पाएनन्, साउन सकियो पानी पाएनन्, खेत बाँझै

दाङ, भदौ २ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ पन्दनपुरका गंगा कँवरको खेत भदौ लागिसक्यो बाँझै छ । असारमा धानको बीउ राख्नेसमयमा मलको अभाव खेप्नुभएका कँवरले साउन सकिँदासमेत पानी नपरेपछि धान रोप्न सक्नुभएको छैन भने खेत बाँझै राख्नुभएको छ ।

अघिल्लो वर्षहरुमा साउनको महिनामा उहाँले धान गोड्ने (धानमा भएको झार फाल्ने) समय भइसकेको हुन्थ्यो । भदौको महिनामा धानले गाँज हालिसकेको हुन्थ्यो । तर यस वर्ष वर्षा नभएपनि धान रोप्नु भएको छैन ।

आकाशे पानीको भरमा उहाँले धान रोप्ने गर्नुहुन्थ्यो । पानीको अभावसँगै अहिले कँवर खेत बाख्रा चरण क्षेत्र भएको छ । ‘पानी परेन, धान रोपाइन हुन सकेन,’ उहाँले भन्नुभयो, ‘अहिले त सरकारले ठक्यो, मौसमले पनि ठक्यो ।’ धान रोपाइन गर्न नसकेपछि उहाँ अहिले चिन्तित हुनुहुन्छ ।

सोही ठाउँका गिरराज गिरी पनि पानी नपरेपछि चिन्तित हुनुहुन्छ । उहाँको खेतमा कुलो छ । बोरिङबाट पानी सिँचाई गरेर पानी चार्न सकिन्छ । बोरिङबाट पानी तानेर खेतमा रोपाई पनि गर्नुभएको छ । तर अहिले पर्याप्त रुपमा पानी नपाउँदा लगाएको धानसमेत सुक्न लागिसकेको छ ।

उहाँले भन्नुभयो, ‘धान त जसोतासो पालो कुरेर रोपियो । तर के गर्न त्यसको पानीले यहाँ सबैलाई पुगेको छैन । धान सुक्न लागिसक्यो ।’ पालो लगाएर पानी सिँचाई गरेको भएपनि पालो पाउन निकै समय लागेकाले सिँचाईमा समस्या भएको बताउनुभयो ।

‘समयमा नै पानी परेको भए यति बेला धान गाँज हालिसकेको हुन्थ्यो । अब त फुल्ने बेला पनि हो,’ गिरीले भन्नुभयो, ‘तर विडम्बना पानी नपरेपछि धानले भुइँ नै छाडेका छैन् ।’ उहाँले धान भन्दा अग्लो झार भएर आएको बताउनुभयो ।

सोही वडाकै कृषक सीता केसीको पीडा झनै धेरै छ । उहाँको आफ्नो खेत छैन । खेत लिजमा लिएर धान खेति गर्ने उहाँको तयारी थियो । आकाशे पानीले धानको बीउ पनि राख्नेभयो । तर पानी नपरेपछि उहाँले धान रोप्नुभएको छैन ।

धानको बीउ खेतमा नै छ । धान रोप्न नसकेपछि बीउ भने जमरा जस्तो पहेंलो भएको छ । ‘समयमा पानी नपर्दा यस्तो भयो, पानी पर्ने रहेन्छ,’ उहाँले भन्नुभयो, ‘यत्तिकैमा खेत जोताउनेमा र धानको बीउ किन्नेमा खर्च मात्रै भयो ।’

No description available.

गंगा, गिरिराज, सीता जस्तै दाङमा धान रोपाइ गर्न नपाएर धेरै कृषक पीडामा छन् । असार १५ सम्मसमेत मलको अभाव खेपेका दाङका कृषक प्रयाप्त पानी नपरेपछि धान रोप्न पाएका छैनन् भने रोपिएका धानसमेत पानी नपाउँदा सुक्न थालेका छन् । साथै पानी अभावमा धानमा रोग किरा पनि लाग्न थालेको छ ।

दाङमा देउखरी र दाङ गरी दुई उपत्यका छन् । जसमध्ये देउखुरीमा राप्ती नदीसँगै बोरिङको पानी सहज रुपमा पाउन सकिने हुँदा यस उपत्यकाका लगभग सबै कृषकहरुले धान खेति गरिसकेका छन् । कृषि ज्ञान केन्द्र दाङले देउखुरी क्षेत्रमा अपवाद बाहेक लगभग सबै क्षेत्रमा धान रोपाइ भएको बतायो ।

तर दाङ उपत्यकामा भने धेरै खेत बाँझै रहेको छ । घोराहीदेखि पश्चिम बबई गाउँपालिकासम्मका कृषकहरुले धान रोपाइ गर्न नसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोज कुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा अहिले पनि लभगभ १५ प्रतिशत खेत पानी अभावमा बाँझै रहेको छ । सूचना अधिकारी सिंहले समग्र जिल्लामा ८७ प्रतिशत मात्र रोपाई भएको र बाँकी अब रोपाई हुन सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

No description available.

दाङमा यस वर्ष ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा रोपाइ गरिने प्रक्षपण थियो । मौसम प्रतिकुलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाई नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?