२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

घोराही–तुलसीपुर सडक निर्माणमा निगरानी जरुरी

दाङ, भदौ २२ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा चरम ढिलाई हुँदा नागरिकले वर्षौदेखि सास्ती खेप्दै आइरहेका छन् । ३० महिनामा सकिनु पर्ने सडक निर्माणको काम ४८ महिना पुग्न लाग्दासमेत सडकको भौतिक प्रगति १० प्रतिशत बढी हुन सकेको छैन । ठेकेदार कम्पनीको लापर्वाहीले गर्दा सडक निर्माणको काम समयमै हुन नसकेको हो । बीचमा कोरोना महामारीको केहि असर देखिएपनि त्यो असर गौण छ । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८.१९ किलो मिटरको सडक निर्माणको जिम्मा १४ माघ ०७५ मा भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रालीले लिएको थियो ।

तथ्यले ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि काममा ढिलासुस्ती गरिरहेको छ । सडक निर्माणका क्रममा सडक छेउमा खाल्डा खनेर धराप पारिएको छ भने सडकमै सयौँ खाल्डा पर्दा यात्रा निकै जोखिमपूर्ण भएको छ । सडक निर्माण सुरु भएदेखि आजसम्म २२ जना नागरिकले ज्यान गुमाइसकेका छन् । यसरी सडक निर्माणमा भएको लापर्वाही अकालमै नागरिक ज्यान गुमाइरहेका छन् भने थप यात्रा जोखिम बनिरहेको छ ।

यसमा तथ्यको त दोष छदै छ साथमा जिल्लाका सरोकारवालाहरुको पनि दोष कम छ भन्न मिल्दैन । दुई उपमहानगरपालिका जोडेको सडक निर्माणमा चासो घोराही र तुलसीपुरको पनि हुनु जरुरी थियो । त्यो चासो जतिहुनुपर्ने थियो, उपमहानगरबाट नभएको देखिन्छ । साथमा प्रशासन कार्यालय, राजनीतिक दल, नागरिक समाजको पनि चासो उपलब्धिमुलक हुन सकेन । यसले गर्दा पनि सडक निर्माणमा ढिलाई भएको हो । सरोकारवालाको चासो कम हुँदा ठेकेदार कम्पनीलाई अझ सहज भएको छ । जसले गर्दा ठेकेदार कम्पनीले चौथो पटक म्याद थप गर्ने अवसर पाएको छ । अहिलेको ठेकेदार कम्पनीले काम गर्न सक्दैन भन्ने आमरुपमा जानकार जस्तै छ ।

तर ठेकेदार कम्पनीले म्याद थपिरहेको छ । अब एक वर्षमा सक्ने गरी चौथो पटक सडक निर्माणको म्याद थप हुँदै गर्दा सरोकारवालाको चासो पनि हुनु पर्ने देखिन्छ । सडक निर्माणको अवस्थाबारे बुझ्न समिति गठन त भएको छ, उक्त समितिले कति काम गर्छ भन्ने अब हेर्न बाँकी छ । तर अब उप्रान्त वर्षदिनमा सक्ने गरी काम भइरहेको छ छैन भन्ने कुराको निगरानी हुन पर्ने छ र मृत्यु मार्गका रुपमा चिनन थालेको घोराह–तुलसीपुर सडकको छिटो काम सक्नुपर्छ । छिट्टै नागरिकले सहज यात्रा गर्न पाउनु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?