२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

कोलकाता लगेर मिर्गौला बेच्ने गिरोह सक्रिय : एकै गाउँका १५ भन्दा धेरैको मिर्गौला झिकियो

नुवाकोट, भदौ २९ । विपन्न नागरिकलाई आर्थिक प्रलोभनमा पार्दै भारत लगेर मिर्गौला बिक्री गर्ने गिरोह सक्रिय छ । यो गिरोहले काठमाडौंसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका १५ जनाभन्दा धेरैको मिर्गौला बिक्री गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गाउँकै स्थानीयलाई प्रयोग गरी गिरोहले रोजगारीको प्रलोभनमा भारतको कोलकाता लैजाने र झुक्याएर मिर्गौला निकाल्ने गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । मिर्गौला निकालिएका एक पीडितले उजुरी दिएको र अन्य पीडितको पनि खोजी भइरहेको ब्युरोका एसपी दानबहादुर मल्लले बताउनुभयो ।

‘एउटै गाउँका धेरैजनालाई कोलकाता पुर्‍याएर मिर्गौला निकालिएको हाम्रो अनुसन्धानमा देखिएको छ,’ एसपी मल्लले भन्नुभयो, ‘केहीलाई पक्राउ गरेका छौँ, यसमा ठूलै गिरोहको संलग्नता हुन सक्ने अनुमान छ, त्यसमा अनुसन्धान चलिरहेको छ ।’

मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका वडा नम्बर ६ र ७ का चारजनालाई पक्राउ गरिसकेको छ । सानु भन्ने सुवास नेपाली, मुरली दमाईं, राजु नेपाली र राजेश परियारलाई पीडितको उजुरीका आधारमा २२ साउनमा पक्राउ गरिएको थियो । उनीहरू सबै जेल चलान भएका छन् । उनीहरूले शिवपुरीकै एक स्थानीयलाई मःम पसलमा काम लगाइदिने भन्दै कोलकाता पुर्‍याएर इच्छाविपरीत अस्पतालमा भर्ना गराएर अर्को व्यक्तिमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

पक्राउ परेकामध्ये ४६ वर्षीय मुरली दमाईं आफैँ पनि पीडित पनि हुन् । करिब १५ वर्षअगाडि आफूले एउटा मिर्गौला बिक्री गरेको उनले प्रहरीसँग स्विकारेका छन् । परिवारका एक सदस्यको मृत्युपछि ऋण लागेको र त्यही ऋण तिर्न आफूले मिर्गौला बिक्री गरेको उनको बयान छ । पछि गाउँका अन्य व्यक्तिको मिर्गौला बिक्री गर्न पनि उनले सहजीकरण गरिदिएका थिए । आफूले मिर्गौला बेच्दा केही नभएको भन्दै अरूलाई पनि उनले उस्काउने गर्दथे । ग्रहणकर्ता र दाताबीच सहजकर्ताका काम मुरलीले गर्दै आएको प्रहरी दाबी छ ।

पक्राउ परेकामध्ये सुवास नेपालीको भने भारतीय गिरोहसँग सम्बन्ध देखिएको छ । पीडित र पक्राउ परेका व्यक्तिले बताएअनुसार गाउँका कम्तीमा १५ जनाले त्यसरी मिर्गौला बिक्री गरिसकेका छन् । बिक्री गर्नेहरू चरम गरिबीको जीवन बाँचिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा विपन्नता र अशिक्षाकै कारण एउटै गाउँका धेरै व्यक्तिले मिर्गौला बेचेको पाइएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?