२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

सचिवस्तरीय दिल्ली बैठक : सीमा विवादमा भारत मौन

काठमाडौं, भदौ ३० । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक मंगलबार नयाँ दिल्लीमा भएको छ। परराष्ट्र मन्त्रालयका सचिव भरत पौड्याल र उहाँका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच हैदराबाद हाउसमा दुई पक्षीय बैठक भएको हो। विभिन्न विषयमा छलफल भएको बैठक मंगलबार नै सम्पन्न भएको हो।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव पौड्यालले नेपाल–भारत सीमा विवादको विषय उठान गर्नुभएको थियो। बैठकमा सीमा विवादसम्बन्धी बाँकी कामलाई दुईपक्षीय स्थापित संयन्त्रमार्फत पुरा गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयले भने यो विषयमा मौनता देखाएको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छलफलका अजेन्डा उल्लेख भए पनि सीमा विवादको विषय उल्लेख छैन। बैठकमा व्यापार पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा क्षेत्र, सिँचाइ तथा तटबन्ध, कृषि, लगानी, विकास सहकार्य, स्वास्थ्य, संस्कृति, जनस्तरीय सम्बन्धलगायत नेपाल–भारत सहयोगका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको गत अप्रिलमा भएको भारत भ्रमण र मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका बेला भएका छलफलको प्रगतिमा पनि समीक्षा भएको थियो। दुई पक्षीय बैठकमा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा पनि छलफल भएको थियो।

दुवै पक्षले ऊर्जा क्षेत्र, विद्युत् प्रसारण लाइन निर्माण, रेलवे कनेक्टिभिटीलगायतका महत्वपूर्ण पूर्वाधार निर्माणमा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका थिए। छलफलमा रासायनिक मलको आपूर्ति, गहुँ, चिनी, धान र चामलको निर्यातमा भारतले लगाएको प्रतिबन्धबारे पनि छलफल भएको थियो।

नागरिक दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?