२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

नेपालमा खेलकुद विश्वविद्यालय खोल्नेछौँ : प्रधानमन्त्री

काठमाडौं, भदौ ३१। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्नुहुँदै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाल खेलकुदप्रति धेरै नै अगाडि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ तर पनि ओलम्पिकलगायत धेरै विधामा हाम्रा साथीहरुले भाग लिनुभएको छ । हाम्रा धेरै युवा पनि खेलकुदमा रमाउँछन् । हाम्रा मन्त्रीज्यूले मलाई खेलकुद विश्वविद्यालय खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालय खोल्ने तयारीमा लाग्नेछौँ ।’’

कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरुको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको पनि बताउनुभयो । गोरखापत्र अनलाइनबाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?