२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

पानी पनि आयात गर्छ नेपाल, गत वर्ष ४८ हजार लिटर पानी आयात

दाङ, असोज ३। नेपालमा पानी पनि आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०७८/७९ मा मात्र ४८ हजार ७०७ लिटर पानी नेपाल भित्रिएको छ । उक्त वर्ष विभिन्न मुलुकबाट ५७ लाख ८१ हजार रुपैयाँको पानी आयात भएको हो । यस्ता मिनिरल वाटर नेपालस्थित विभिन्न विदेशी नियोग र होटलहरूले ल्याउने गरेका छन् ।

अघिल्लो आवमा भने तीन लाख ५६ हजार रुपैयाँको चार हजार ५१५ लिटर पानी आयात भएको तथ्यांकले देखाएको छ । कोभिड–१९ महामारीले गर्दा होटेल व्यवसायमा प्रत्यक्ष प्रभाव पारेकाले पनि पानी आयातमा कमी आएको देखिन्छ ।

नेपालमा आयात हुने पानी नमुनाको लागि पनि ल्याउने गरिएको तथ्यांक रहेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार नेपालमा आयात हुने पानी होटलहरूले प्रयोग गर्ने गरेका छन् । “होटलले प्रयोग गर्ने पानी विदेशबाट आयात हुने गरेको छ । अन्य व्यापारिक प्रयोजन कै लागि भनेर नेपालमा पानी आयात हुने गरेको छैन,” उहाँले भन्नुभयो, “कतिपय विदेशी नियोगहरूमा आफ्नै देशको पानी आयात हुने गरेको छ ।”

गत वर्ष चीन, भारत, इटली कोरिया, जापान मलेसिया तथा अन्य देशबाट नेपालमा मिनिरल वाटर तथा बरफ आयत भएको छ । पानी आयातबाट सरकालाई गत आवमा ३३ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।

गत वर्ष नेपालबाट ५७ लाख ८२ हजार रुपैयाँ बराबरको ४३ हजार ४१२ लिटर पानी निर्यात भएको विभागले जनाएको छ ।

-बाह्रखरीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?