२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

दाङमा ५० बढी चिया पाइने हिमानीको चिया पसल

टोपेन्द्र रोका मगर
दाङ । एउटाले जे गरेको छ त्यस्तै काम फेरि अर्कोले गर्ने चलन भएको हामी पाउँछौँ। बजारमा कसैको तरकारी पसल राम्रो चलेको छ भने अर्को जनाले सँगै तरकारीकै व्यवसाय गरेको देखिन्छ।

तर, अलि नयाँ काम गरौँ न भन्ने विषय जो कोहीले सोचिहाल्ने गरेको पाइदैन। गर्न खोजे पनि हौसल्लाहभन्दा बढी निराशाका कुराहरु सुन्न पाइन्छ। नेपालमा अझ रोजगार, व्यापार व्यबसाय महिलाले होइन पुरुषले गर्ने हो भन्ने मान्यता छ।

जनचेतना बढ्दै गएपछि पछिल्लो दिनहरुमा यस्ता मान्यताहरुमा केही परिवर्तन आएपनि महिलाले चुलोचौको नै गर्नुपर्छ भन्ने धारणा अझै कामयमै छ।

यस्तै, मान्यतालाई चिर्दै पछिल्लो दिनहरुमा महिलाहरुमा सशक्तिकरण बढ्दै गएको छ। घरमा मात्र होइन घरबाहिर पनि निस्कनुपर्छ भन्ने धारणा बढेर गएको छ। पुरुषले मात्र होइन महिलाले पनि हरेक काम गर्न सक्छन् भन्ने उदाहरण थुप्रै भेटिन थालेको छ। उदाहरण मध्येकी एक हुनुहुन्छ दाङ घोराही–१८ कि हिमानी डिसी। जसले घरमा मात्र बस्नुपर्छ भन्ने परम्परालाई तोड्दै आफू एक्लैले व्यवसाय सञ्चालन गर्नुभएको छ। हिमानीले परम्परागत होइन जिल्लामा नै पृथक व्यवसायमा हात हाल्नुभएको छ।

जसले जिल्लामा नै ५० भन्दा बढी प्रकारका चिया मात्र पाइने चिया घर सञ्चालन गरेर बस्नुभएको छ। दुई वर्षअघि निजि कम्पनीमा काम गर्दै गर्दा केही नयाँ गरौँ भन्ने सोचेर दाङमै चिया मात्र पाउने चिया पसल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।

घोराही १५ मेनरोडस्थित नेत्रलाल चोकको दक्षिणतर्फ ‘किट्ली टि टाउन’ नामक चिया पसल सञ्चालन गर्नुभएकी हिमानी अहिले स्वरोजगार मात्र हुनुभएको छैन एक जनालाई रोजगार समेत दिनुभएको छ ।

सुरुमा नयाँ काममा हात हाल्दा सफल नहुने हो कि भन्ने चिन्ताले सताएको बताउँदै उहाँले चिया पसल सञ्चालनमा आएपछि राम्रो भएको बताउनुभयो। ‘पहिले त डर थियो नि, जिल्लामा नै नयाँ थियो। त्यसमा महिलाले सञ्चालन गरे भन्ने हुन कि भन्ने अर्को डर पनि,’ उहाँले भन्नुभयो, ‘पसल चलेन र घर फर्कनु पर्ने हो कि भन्ने चिन्ता थियो।’

तर, पसल सञ्चालनमा आएपछि राम्रै चलेको भन्दै हौसल्लाह पाएको हिमानीले बताउनुभयो। अहिले हिमानीले सञ्चालनमा ल्याएको ‘किट्ली टि टाउन’मा ५० बढी चियाहरु पाइन्छन्। जसमा दंगाली चिया भनेर छुट्टै चियाका प्रकारह छन्। मट्का, मिल्क, हन्नी, ग्रिन, मसला, आइस, रेड, खयर आदि चिया पाइने हिमानीले बताउनुभयो।

व्यस्त बन्ने इच्छाले नयाँ कामको सोच

दुई वर्षअघि हिमानी एक निजि क्षेत्रमा काम गर्थिन। निश्चित समयमा अफिस जाने। काम गर्ने। अनि निश्चित समयमा घर फर्कने दैनिकी थियो। काम गर्दै गर्दा सधै उहाँको मनमा भने अझ व्यस्त बन्ने इच्छा पलायो। अनि केही नयाँ काम गरौँ भन्ने सोच भइरह्यो। तर, के गर्ने भन्ने अन्योल अझ बढी थियो।

यस्तैमा उहाँको सोचमा आयो चिया मात्र पाइने चिया घर। तर, आँट गर्न भने कठिन थियो। न उहाँले काम गर्नुभएको थियो न कहीबाट जान्ने मौका पाउनुभएको थियो। अनि दाङमा विशुद्ध चिया मात्र पाउने ठाउँ पनि थिएन।

चिया मात्र पिउनका लागि चिया घरसम्म मानिस आउँछन् भन्ने सोच्न पनि कठिन थियो हिमानीलाई। खाजा घरसँगै चिया पिउन मानिसहरु साँझ विहान बसेको देखिएको भए पनि चिया मात्र पाइने ठाउँ हुन्छ भन्नेसम्मको उहाँलाई जानकारी थिएन्।

तर, गरे के हुन्न र भन्ने आँट भने उहाँमा थियो। अनि केही नयाँ त गर्ने भन्ने हिमानीमा अर्को आँट पनि थियो। यही बीचमा जन्मियो एउटा चिया मात्र पाउने चिया घर– किट्ली टि टाउन।

‘केही नयाँ त गरौँ भन्ने सोच थियो, तर के गर्ने भन्ने पनि थियो,’ हिमानीले भन्नुभयो, ‘अनि चियाका बारेमा जानेका दाइहरुसँग सल्लाह लिएर यो चिया मात्र पाइने किट्ली टि टाउन सञ्चालनमा लियौँ।’

उहाँले चिया पसल सञ्चालन गर्ने सोच भइरहँदा चिया मात्र पाइने पसलका बारेमा जानकारी नै नभएको बताउनुभयो। पछि मात्र काठमाडौं, पखरा, विराटनगरलगायत ठाउँमा चिया मात्र पाइने चिया पसल भएको थाहा भएको उहाँले बताउनुभयो।

दाङमा भने चिया ५० बढी चिया मात्र पाइने ठाउँ किट्ली टि टाउन मात्र रहेको हिमानीले जानकारी दिनुभयो। ‘अन्य ठाउँमा चिया मात्र पाइने। अझ ५० बढी चिया पाइने भनेर सञ्चालनमा ल्याएको चिया घर भएको मलाई थाहा छैन,’ उहाँले भन्नुभयो, ‘सायद छैन होला। महिलेले नै सञ्चालनमा ल्याएको चिया घर त छैन न होला।’

किट्ली टि टाउन सञ्चालनमा ल्याएसँगै आफू विहानदेखि साँझसम्म व्यस्त रहने गरेको हिमानीले बताउनुभयो। घरमा खाना पकाउन समेत फुर्सद नहुने उहाँको भनाई छ। विहान ढिला भने पनि ६ बजे चिया पसल खोल्ने र ७र८ बजेसम्म चिया पसलमा रहने उनले जानकारी दिनुभयो।

हिमानीले चिया पसलमा अहिले एक जनालाई रोजगार पनि दिनुभएको छ। चिया पसलबाट आम्दानी ठिकै हुने गरेको उनको भनाई छ। खर्च कटाएर नै मासिक ४० हजार बढी बचाउने गरेको उहाँले बताउनुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?