२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

कृषि क्रान्ति : दाङमा उत्पादन हुन्छ, भारतसम्म पुग्छ प्रेमले उत्पादन गरेको बीउ

टोपेन्द्र रोका मगर
दाङ । खेत छ, खेती गरिन्छ, तर वर्ष दिन खान पुग्दैन। केही महिना आफ्नै खेतबाट उत्पादन भएको (धान, गहुँ, तोरी) खायो, बाँकी महिनाका लागि बेसायो ९साहुबाट अन्न किन्नु०। यस्तै अवस्थाबाट हुर्किनभएको थियो, दाङ राप्ती गाउँपालिका–६ का प्रेमबहादुर चौधरी।

प्रेमबहादुरको विघा जमिन थियो। उहाँ माध्यमिक शिक्षा पढ्ने समयसम्म घरमा बुवाआमाले खेती गर्ने गरेपनि वर्ष दिन खान पुग्ने अवस्था थिएन।

उहाँ कोठा लिएर पढ्ने समयमा साहुबाट बेसाएर प्रेमलाई बुवाआमाले चामल पठाइन्थे। कक्षा १० सम्म पढेका उनले घरमा खानका लागि पनि बेसाउने अवस्था आएपछि पढ्न छाडेर कृषि पेशामा लागेको बताउनुहुन्छ। ‘घरमा खेत छ, तर खान पुग्दैन। बेसाउने अवस्था आएपछि मैले पढ्न छाडेर कृषिमा लागेको हुँ,’ प्रेम भन्नुहुन्छ।

प्रेमले कृषि पेशा गर्न थालेको दुई दशक बढी भइसकेको छ। ०४१ सालमा एसएलसी दिएपछि कृषि पेशा गर्न थालेको उहाँ बताउनुहून्छ। एक दशकसम्म तरकारी उत्पादन गरी बिक्री गरेर जीवन निर्वाह गर्नुभएका उहाँले अहिले भने बीउ उत्पादन गर्न थाल्नुभएको छ।

व्यवसायिक तरकारी खेती गर्नुभएका प्रेमले आफूलाई परिवर्तन गर्दै अहिले धान, गहुँ र राज्माको बीउ उत्पादन गर्ने गर्नुहुन्छ। एक दशकदेखि उहाँले बीउ उत्पादन गर्न थाल्नुभएको हो। अहिले उहाँले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, रुपन्देही, तनहुँसँगै भारतसम्म पुग्ने गरेको छ।

पहिले थोरैबाट बीउ उत्पान गर्न थालेको बताउँदै प्रेमले माग बढ्दै गएपछि हाल ६ विघा जमिनमा बीउ उत्पादन गर्ने गरेको बताउनुभयो। उहाँले उत्पादन गरेको बीउ पूर्वको चितवनसम्म पुग्ने गरेको थियो। तर माग धान्न नसकेर पठाउन छाडेको प्रेमले जानकारी दिनुभयो।

‘चितवनसम्म पनि जान्थ्यो मैले उत्पादन गरेको बीउ, तर उत्पादनभन्दा माग बढी भयो। मेरो उत्पादन यतै सकियो। पछि पठाउन छाडेँ,’ प्रेमले भन्नुहून्छ, ‘अहिले यतै नेपालगञ्ज हुँदै भारतसम्म पनि बीउ पठाउने गरेको छु।’

मकैको बीउसमेत उत्पान गर्ने सोच बनाउनुभएका उहाँले जमिन अभावमा मकैको बीउ उत्पादन गर्न सक्नुभएको छैन। उहाँले भन्नुभयो, ‘मकैका लागि जमिन धेरै आवश्यक पर्ने भयो। बीउ उत्पादनका लागि मकैलाई टाढा–टाढा रोप्नुपर्छ। जमिन अभावमा मकैको बीउ उत्पादन गर्न सकिएन।’

उहाँले आफ्नै एक विघा जमिन र बाँकी ५ विघा जमिन लिजमा लिएर विभिन्न अन्नवालीको बीउ उत्पादन गर्दै आउनुभको छ । बीउ उत्पादनसँगै आम्दानीसमेत राम्रै हुने गरेको उहाँ बताउनुहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?