२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

बादी समुदाय : ५० वर्षदेखि एउटै माग तर अधुरै

बादी समुदाय पञ्चायत शासनकालदेखि अपहेलनामा प¥यो । कतिपय ठाउँमा बादी समुदायलाई बस्न दिइएन र गाउँबाट लखेट्ने कामसमेत भयो । पञ्चायत शासनकाल फेरिँदै आज गणतन्त्र आइसकेको छ । तर बादी समुदाय अहिले पनि सुरक्षित आवासकै खोजिमा छ ।५० वर्ष अघिको माग पूरा हुने सपनामा छ ।


दाङ, कात्तिक २८ । चन्द्रबहादुर नेपाली (बादी) उम्मेरले ६२ वर्षको हुनुभयो । सल्यानमा जन्मिएका उहाँ २०२९ सालमा परिवारसँगै दाङको तुलसीपुरमा झर्नुभयो । त्यतीबेला उहाँ मात्र १२ वर्षको हुनुहुन्थ्यो ।

चन्द्रबहादुरको परिवारसँगै सिंगो बादी समुदाय नै सल्यानबाट दाङको तुलसीपुर–७ मा झ¥यो । सुरुमा यहाँ कुनै बस्ती थिएन । बुट्यान मात्र थिए । त्यहि बुट्यान फाँडेर १०÷१२ घर बादी समुदाय तुलसीपुर–नयाँ बस्तीमा बसेको थियो ।

त्यतिबेला बस्ती बसाउँन सजिलो भएन । पञ्चायत शासनकालमा बसेका कयौं बस्तीबाट बादी समुदाय लखेटिए । चन्द्रबहादुरलाई अहिले पनि सम्झना छ, तुलसीपुरकै कयौँ बस्तीबाट बादी समुदाय बस्ने झुप्राहरु भत्काइएका थिए । ‘पञ्चायतका समयमा हामीले धेरै दमन खेप्नु प¥यो,’ उहाँ भन्नुहुन्छ्, ‘तुलसीपुरकै जब्बरपुर, बडवागाउँ, गाइडर, मोतिपुर, खर्चुवापुरका बादी समुदाय लखेटिएर, झुप्रा भत्काइए ।’

त्यो बेला बादी समुदायलाई अछुतो मानेर अपहेलना गरिन्थ्यो । त्यहि कारण उनीहरु लखेटिनु परिरहन्थ्यो । बादी जातिलाई अपहेलना गरेकै कारण चन्द्रबहादुरले बादी थरबाट नागरिकता लिनुभएन् । ‘मैले त नेपाली थर राखेर नागरिकता नदिएसम्म नागरिकता नै बनाएन,’ उहाँले भन्नुभयो, ‘त्यो कारण बादी भनेर सहनु पर्ने अपहेलनाबाट बच्नु थियो ।’

नयाँ बस्ती बसाउनका लागि चन्द्रबहादुरले कम्ति दुःख गर्नुभएन । खाने अभावमा बेल र गिठाहरु खाएर जीवन चलाउनुभयो । ‘यहाँ बस्ती बसाउन धेरै दुःख गर्नु परेको छ,’ उहाँ भन्नुहुन्छ्, खाने केहि थिएन । यहाँ हामीले बेल र गिठाहरु खाएर जीवन बिताएका छौँ ।’

नयाँ बस्तीमा बादी समुदाय बस्न थालेको ५० वर्ष भइसकेको छ । तर उनीहरु अहिले पनि सुकुम्बासी नै छन् । जग्गाको कित्ताकाट (जग्गा छुट्याउने काम)भइसकेको छ । हातमा लालपुर्जा (जग्गाधनी पुर्जा) भने छैन । राज्यसँग गाँस, बास, कपासको माग गर्दै सिंहदरबारसम्म पुगे पनि यो नयाँ बस्तीले लालपुर्जा पाउन सकेको छैन ।

प्रत्येक चुनावमा नेताहरुले लालपुर्जा दिने विषयलाई चुनावी एजेण्डा बनाउने गर्छन । त्यो उनीहरुले दिने आश्वसन मात्र भएको छ । नयाँ बस्तीकी ६७ वर्षीया शान्ति नेपाली भन्नुहुन्छ, ‘सधैं नेताहरु आउँछन् र लालपुर्जा दिइहाल्छौँ जस्तो गर्छन तर जितेर गएपछि सबै विर्सिन्छन् ।’ यस वस्तीको २०४६ सालमा नै जग्गाको नाप जाँच भएको थियो । त्यपछि पनि पटक–पटक जग्गाको नापजाँच भएर कित्ताकाट (जग्गा छुट्याउने काम) भइसकेको छ ।

तर लालपुर्जा पाउन कठिन भइरहेको चन्द्रबहादुरले बताउनुभयो । उहाँकाअनुसार अहिले नयाँ बस्तीमा मात्र करिब ५० घरधुरी बादी समुदाय लालपुर्जा विहीन छ । लालपुर्जा पाउने लगायतको माग राखेर बादी समुदायले ०६४ सालमा सिंहदरबार केन्द्रीत आन्दोलन पनि ग¥यो ।

उक्त आन्दोलनपछि आमाको नामबाट नागरिकता पाउने र जनता आवास कार्यक्रम मात्र पाइएको भन्दै बाँकी धेरै सम्झौताहरु अधुरै रहेको चन्द्रबहादुर बताउनुहुन्छ । ५० वर्षदेखि एउटै लडाई लडिरहँदा अब त लालपुर्जा नपाइने हो कि भन्ने चिन्ता लाग्ने गरेको उहाँले बताउनुभयो । ‘नेताहरुले कति बाचा गरे कति,’ उहाँ भन्नुहुन्छ, ‘अबत लाल पुर्जा देलान् भन्ने विश्वास नै मरिसक्यो ।’उहाँले अगाडी भन्नुभयो, ‘हाम्रा बाबु लाल पुर्जा पाउने आश आशैमा विते, त्यही आशमा म पनि बुढो भइसके ।’

लालपुर्जा नहुँदा नयाँ बस्तीका ५० घरधुरीले राज्यबाट पाउने सेवा सुविधा पनि पाउन सकेको छैन । ‘लालपुर्जा नहुँदा यो देशको नागरिक जस्तो पनि लाग्दैन,’चन्द्रबहादुर भन्नुहुन्छ्, ‘लालपुर्जा दिएपछि हाम्रो स्वामित्वमा जग्गा छ भन्नेहुन्थ्यो ।’ लालपुर्जा नहुँदा जग्गा धितो राखेर केही व्यवसाय गरौँ भन्दा पनि नसकिएको उहाँले बताउनुभयो ।

भोट हालेर पटक–पटक नेताहरुलाई संसदमा पु¥याएको सम्झदै चन्द्रबहादुरले हिजो भन्दा आज परिवर्तन भए पनि आफ्नो खास माग अधुरै रहेको सुनाउनुभयो । १८ वर्ष हुँदाखेरी भोट दिन थालेका भन्दै आफ्ना मागहरु सरकार फेरिदै जाँदा ओझेल पर्न थालेको बताउनुभयो ।

No description available.

व्याप्त बेरोजगारी

तुलसीपुर–७ को नयाँ बस्ती पाँच दशकदेखि लालपुर्जा नपाउँदा समस्यामा त छनै, साथमा व्याप्त बेराजगारीले गर्दा सहज जीवनयापनमा समेत समस्या भोगिरहेको छ । कमाउनका लागि भारतदेखि खाडी मुलुक जानु पर्ने बाध्यतामा यहाँका युवाहरु रहेका छन् ।

केही सिमित युवाहरु मात्र रोजगारीमा रहेका छन् । नत्र बेरोजगारीले साँझ विहान के खाने भन्नेसमेतको अवस्थामा यस बस्ती रहेको शान्ति नेपाली बताउनुहुन्छ । उहाँले महिलाहरु बेरोजगार हुँदा दिउँभरी बस्ने र जीवन साँझ विहान के खाने भन्नेको समस्या भएको सुनाउनुभयो ।

१९ वर्षीय सुनिल नेपालीले रोजगार नहुँदा भारतमा गएर घरखर्च चलाउने गरेको बताउनुभयो । ‘यहाँ रोजगार छैन, व्यवसाय गर्ने आर्थिक छैन,’ उहाँले भन्नुभयो, ‘भारतमा गएर घरपरिवार चलाउने गरेको छु ।’ यस बस्तीका अधिकांस युवा बेरोजगार रहेको अर्का २८ वर्षीय युवक शिशिर नेपालीले बताउनुभयो ।

‘म जस्तै एक दुई जना रोजगार गरिरेका छन्,’उहाँले भन्नुभयो, ‘नत्र सबै युवाहरु बेरोजगारीले गर्दा भारतदेखि खाडीदेश पुगिरहेका छन् ।’ उहाँले बेरोजगार हुनुमा जग्गाको लालपुर्जा नहुनु पनि देख्नुहुन्छ । ‘लालपुर्जा भए त यही केही गर्ने युवाहरुले जग्गा धितो राखेर पनि बैंकबाट पैसा लिएर केही व्यवसाय गर्थे,’ उहाँले भन्नुभयो, ‘तर के गर्ने बाउ बाजेको पालादेखि हामीले लालपुर्जा पाउन सकेका छैनौँ ।’

बादी समुदायका युवाहरु कतै रोजगार गरौँ भन्दा पनि पहुँच नहुँदा समस्या पर्ने गरेको अर्को ३१ वर्षीय अर्जुन नेपाली बताउनुहुन्छ ।‘बादी समुदायमा बेरोजगारी व्याप्त छ भन्ने यहाँको स्थानीय सरकारलाई पनि थाहा छ, तर खैत एक जना पनि नगरपालिकामा हाम्रो मान्छेले रोजगार पाएको छैन,’ उहाँले भन्नुभयो, ‘पहुँच नभएपछि हुने रहेनछ । नगरपालिकामा आफ्ना मान्छे मात्र राखेका छन् ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?