२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

लघुवित्तमा जोडिएर आम्दानी गर्दै महिलाहरु

दाङ, असोज २। कुनै समय मान्यता थियो, महिलाहरु चुलोचौकोमै सीमित हुनुपर्छ । तर पछिल्लो समय महिलाहरु चुलोचौकोमा मात्र होइन सामाजिक कार्यसँगै आयआर्जनमा जोडिएका छन् । लघुवित्तमा जोडिएपछि अहिले महिलाहरु उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन् ।

स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आबद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरीले कुनै समय गाउँ घरमा पैसा सापटी माग्दा पनि पत्याउने अबस्था थिएन । जब लघुवित्तमा जोडिनुभो, त्यसपछि उहाँलाई जीवनयापन गर्न सजिलो भएको छ । ‘मैले पैसा सापटी माग्दा गाउँका मान्छेले दिन मान्ने अबस्था पनि थिएन, त्यसले आफ्नो जीवन यापनमा पनि समस्या हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘तर, अहिले लघुवित्तमा जोडिएपछि सहज भएको छ ।’

त्यस्तै सोही ठाउँकै बेलमति विकलाई पनि घर धान्न समस्या हुन्थ्यो । अहिले लघुवित्तबाटै ऋण लिएर ब्यबसायीक खेति गरेपछि उहाँले पनि मनग्य आम्दानी गर्दै आउनुभएको छ । ‘लघुवित्तले हामी जस्तै थुप्रै महिलाहरुलाई सहज बनाएको छ ।’ उहाँले भन्नुभयो ।

केन्द्र ३१ की प्रमुख गिरीका अनुसार महिलाहरुले लघुवित्तबाट ऋण लिएर भैसी, कुखुरा पालन गर्नुकासाथै ब्यबसायीक खेति गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । जसबाट उनीहरुले आम्दानी गर्नुकासाथै समाजमा प्रतिष्ठा पनि बढेको छ । ‘हामीले आम्दानी मात्रै गर्ने गरेका छैनौं’, उहाँले भन्नुभयो, ‘समाजमा प्रतिष्ठा पनि कमाएका छौं, ‘सबैले सम्मान गर्ने भएका छौं, सबैसँग आफ्ना कुरा राख्न सक्ने भएका छौं ।’

स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाका मात्रै तुलसीपुरमा २५१ वटा केन्द्रहरु छन् । संस्थाका तुलसीपुर शाखा प्रमुख चन्द्रबहादुर थापाले साना तथा मझौला ब्यबसायीहरुलाई कुनै पनि निकायले चासो नदिएकाले यस्ता ब्यबसायीहरुलाई लघुवित्तले लगानी गरेको बताउनुभयो । जसले गर्दा उद्यममा सहज भएको उहाँको भनाई थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?