२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

राउटे समुदायमा छैन महिनावारी विभेद

दैलेख, मंसिर २२ । कर्णालीमा फिरन्ते जीवनयापन गर्ने समुदाय हो, राउटे। उनीहरूको आफ्नै संस्कृति, परम्परा, रहनसहन, भेषभूषा र रीतिरिवाज छ। लोपोन्मुख राउटे नागरिक दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशील समुदाय हो। आफ्नै मान्यता तथा मौलिकताभित्र रही जीवनयापन गरिरहेका राउटे आधुनिक समाजबाट टाढै छन्। जंगल, वन्यजन्तु र प्रकृतिसँग निकट छन्। समुदायभित्र विभेद र वर्ग विभाजन छैन। यो नै राउटेको पहिचान हो।

उनीहरूको अर्को पहिचान हो, समुदायमा ‘महिनावारी विभेद’ नहुनु। कर्णाली र सुदूरपश्चिममा महिनावारी विभेद (छाउपडी) बस्ने चलन व्याप्त छ। महिनावारी भएको अवधिमा महिलाहरू बहिस्कृत हुने, छाउगोठ र गाई–भैंसी बाँध्ने गोठमा बस्नुपर्ने बाध्यता छ। विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार खेप्नुपर्छ। महिनावारी हुँदा छाउगोठमा बसेकै कारण कयौले अनाहकमै ज्यान गुमाइसकेका छन्। तर, राउटे समुदायका महिलाहरू महिनावारी हुँदा छाउगोठ भने बस्दैनन्।

बस्तीमा छुट्टै छाउगोठ छैन। महिनावारी हुँदा घरभित्र छुट्टै एक छेउमा परिवारसहित बस्छन्। महिनावारी भएकी महिला चुलोमा गएर खाना पकाउँदैनन् तर घरभित्रै बस्ने गरेको राउटे महामुखिया महिनबहादुर शाही बताउँछन्। ‘महिलाहरू महिनावारी हुँदा घरभित्री (झुपडी) बस्छन् तर, पाँचदेखि सातदिनसम्म खान पकाउन मिल्दैन। यो उनीहरूको आराम गर्ने समय पनि हो।’ महामुखिया शाहीले भने। कर्णाली र सुदूरपश्चिमका अन्य समुदायमा महिला महिनावारी हुँदा घरभित्र पस्न पाउँदैनन्। कतिपय स्थानमा घरको आँगनसम्म टेक्न बर्जित छ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्