२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

समानुपातिक सांसद चयनमा रास्वपामा लफडा

दाङ, मंसिर २२ । पार्टी गठनको छोटो समयमै अप्रत्यासित नतिजा निकालेर हौसिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनलाई लिएर लफडा निम्तिएको छ । समावेशी सिद्धान्तका आधारमा संविधानले तोकेको सीमाभित्र रहेर छनोट हुने समानुपातिक सांसद चयन प्रक्रियामा चलखेल भएको भन्दै सो पार्टीमा विवाद शुरु भएको हो ।

विवाद चर्किंदै जाँदा पार्टी केन्द्रीय कार्यालयमा आज प्रदर्शन भएको छ । विधानबाहिर गएर गरिएको निर्णय कसैको लागि पनि हितकर नहुने भन्दै प्रदर्शनकारीहरुले बसुन्धरास्थित केन्द्रीय कार्यालय (घण्टी घर) घेराउ गरेका हुन् ।

असन्तुष्ट समूहले 'प्राइमरी इलेक्सन'बाट आएकाहरूलाई पन्छाएर नेताको व्यक्तिगत स्वार्थ अनुकूलका व्यक्तिलाई समानुपातिक सांसदमा पठाउन खोजेको आरोप लगाएको छ । पार्टीको विधि,पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गई समानुपातिक सांसद चुन्न लागेको प्रदर्शनकारीहरुको आरोप छ ।

निर्वाचनमा चुनिएर आएकाहरुलाई प्राथमिकतामा नराखेको भन्दै उनीहरुले पार्टी सभापति लामिछानेविरुद्ध नाराबाजीसमेत गरेका छन् । पार्टी बिग्रिएला भन्ने डरले ‘खबरदारी सभा’ गरेको प्रदर्शनकारीहरुले बताए । रास्वपाले मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ सात सीट जितेको छ । त्यस्तै, समानुपातिकतर्फ १३ सीटमा विजय हासिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्