एकहजार आमालाई कानुन सिकाउँदै मेट्रो कलेज

तुलसीपुर, असार ४ । तुलसीपुर मेट्रो कलेज कानुन संकायले एक हजार आमाहरुलाई कानुनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियानअन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।
उहाँले आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुराहरु सिकाइने पनि बताउनुभयो । ‘महिलाले आफ्नो अधिकारका बारेमा नजान्दा घरेलु हिंसाको सामना गरिरहनुपरेको छ त्यसैलाई रोक्नका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’, कलेज प्रमुख आचार्यले बताउनुभयो ।
कानुनी साक्षरताअन्तर्गत न्यायिक समितिमा निरुपण हुने मुद्दा, महिला हिंसाका साथै महिला अधिकारका बारेमा संवैधानिक व्यवस्था सम्बन्धी विषयमा तालिम दिइएको अधिवक्ता विजय पोख्रेलले बताउनुभयो । उहाँले महिलाका विभिन्न कानुनी समस्याका बारेमा पनि छलफल गरिने जनाउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिलाहरुका लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ‘महिलाहरुलाई आफ्नो अधिकारका बारेमा समेत थाहा नहुँदा उनीहरु पछाडि परिरहेका छन्, ‘उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । उहाँले कानुनी अज्ञानता क्षम्य नहुने भएकाले सबैले कानुनका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो ।