आगामी महाधिवेशनमा सभापति उठ्छु-शेखर कोइराला
काठमाडौँ, साउन ३१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताउनुभएको छ । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताउनुभएको हो ।
उहाँले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने जिकिर गर्नु भयो । कोइरालाले मुलुकलाई स्थायीत्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताउनु भयो ।
उहाँले राजनीतिक स्थायीत्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको धारणा राख्नु भयो । कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोशी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको उहाँले बताउनु भयो ।