२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

पब्जी खेलेरै २ करोड आम्दानी !

बीबीसी, भदौ २ । अनलाइनका माध्यमबाट खेलिने खेल (गेम)मा आवद्ध भएर नेपाली युवाहरुले २ करोडसम्म कमाउन सफल भएको बीबीसीले लेखेको छ । बीबीसी नेपाली सेवाले विश्वव्यापी रूपमा चर्चित हुँदै गएको ईस्पोर्ट्स अर्थात् विद्युतीय उपकरण प्रयोग गरी विभिन्न खेल खेल्ने प्रचलनले पछिल्ला वर्षहरूमा नेपालमा पनि व्यापक हुँदै गएको कुरा लेखेको छ।

बीबीसीका अनुसार नेपालमा संस्था नै दर्ता गरेर ईस्पोर्ट्सको प्रवर्धन गरिरहेको कम्पनी मध्य एक हो डीआरएस। यसको व्यवस्थापन २५ वर्षका सङ्गीन भट्टराईले गर्नुहुन्छ।

हाल यो कम्पनीले पब्जी मोबाइल प्रतियोगिताहरूमा सहभागिता जनाउँछ। डीआरएससँग ६ जना खेलाडी आबद्ध छन्। त्यस बाहेक टोली व्यवस्थापनका लागि तीन जना अनि ग्राफिक्स म्यानेजरका रूपमा दुई जना कर्मचारी छन्।

खेलाडी लगायतलाई ललितपुरको नख्खुस्थित एक घरमा आवासीय सुविधा सहित बुट क्याम्पमा राखिएको छ।'हामीले पछिल्लो समय भएका अधिकांश प्रतियोगितामा भाग लिएका छौँ। पहिलो चरण भनेको दक्षिण एशियास्तर हो। तर अहिले भने बिस्तारै त्यो विस्तार हुँदै छ,' भट्टराईले बीबीसीसँग भन्नुभएको छ।

हालसालै यो टोलीले पब्जी मोबाइल नेपाल श्रृङखला जितेको छ। १० लाख रुपैयाँ कुल पुरस्कार रहेको उक्त प्रतियोगितामा दोस्रो हुँदै डीआरएसले डेढ लाख रुपैयाँ जित्यो।

गत वर्ष १ करोड ६० लाख रुपैयाँ आफूहरूले जितेको भट्टराईले दाबी छ।'गत वर्ष भरीको सबै जोड्दा यति रकम प्राप्त गरेका हौँ,' उहाँले भन्नुभयो, 'यो आधिकारिक खेलहरूको मात्रै कुरा हो। सबै खेल जोड्यो भने २ करोड रुपैयाँ भन्दा बढी हुनसक्छ।'

त्यस्तै गत वर्ष भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफलाई ५४ हजार ५०० डलर दिएको डीआरएसको दाबी छ।

जानकारहरूका अनुसार दर्ता गरिएका संस्थाहरूलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूले तलबका रूपमा निश्चित रकम प्राप्त गर्छन्। त्यस बाहेक प्रतियोगिता जितेको अवस्थामा निश्चित प्रतिशत रकम संस्थाले राखेर अरू खेलाडीहरूमा वितरण गरिन्छ।

सामान्यतया खेलाडीहरूको तलब ३० हजारदेखि एक लाख हुन्छ। बढी खेलाडीहरू १९ देखि १५ वर्ष उमेर समूहका रहेको बताइन्छ।

ईस्पोर्ट्स

नेपालमा कुन खेल बढी खेलिन्छ ?
सन् २०१० तिरबाटै क्रमिक रूपमा विस्तार हुँदै गएको ईस्पोर्ट्स अन्तर्गतका खेल मध्ये नेपालमा सबैभन्दा बढी मोबाइल गेम्सले ख्याति कमाएको जानकारहरू बताउँछन्।

अझ कोरोनाभाइरस महामारीका कारण लकडाउन लगायतका प्रतिबन्धात्मक व्यवस्था लागु भएपछि मोबाइल गेम्स खेल्नेहरूको सङ्ख्या व्यापक रूपमा बढेको उनीहरूको भनाइ छ।

सहज रूपमा आफ्नै फोनमार्फत अरू साथी भाइसँग जोडिएर खेल्न मिल्ने भएकोले पनि मोबाइल गेम्स प्रख्यात भएको बताइन्छ।

'यसमा प्रवेश सहज छ। गेमिङ पीसी किन्दा कम्तीमा दुई लाख रुपैयाँ पर्छ। प्ले स्टेसनमा पनि झन्डै एक लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। मोबाइल त ३०/४० हजारकैले काम चल्छ,' पाल ईस्पोर्ट्स सङ्घका अध्यक्ष सुरज डङ्गोलले भन्नुभयो।

त्यसै कारण नेपाल सहित दक्षिण एशियाका राष्ट्रमा मोबाइल गेम्स तुलनात्मक रूपमा बढी खेलिन्छ। पश्चिमा राष्ट्रहरूमा भने कम्प्युटरबाट खेलिने खेलहरू बढी खेलिने बताइन्छ।

हालसालै काठमाडौंमा आयोजना गरिएको एशियन गेम्सका लागि छनोट चरणको खेलमा चार हजार भन्दा बढी खेलाडी सहभागी भएको सङ्घले जनाएको छ।

नेपालमा मनोरञ्जनका लागि ईस्पोर्ट्समा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रहे पनि प्रतिस्पर्धात्मक खेलमै सहभागी हुनेहरूको सङ्ख्या भने कम रहेको बताइन्छ।

सबै खेलमा उत्तिकै फलदायी छैन
काठमाडौँ घर भएका २२ वर्षका समीर गुरुङ फिफा फुटबल खेल्नुहुन्छ । कुनै समय नेपालमा राम्रै बोलवाला रहेको यो खेल पछिल्लो समय व्यवसायकी रूपमा भने कमैले खेल्ने गरेको उहाँ बताउनुहुन्छ।

उहाँले सन् २०१३/१४ तिर यो खेल खेल्न सुरु गर्नुभएको हो । फिफामा रमाउने प्राय खेलाडीहरूले पीएसपीमा यो खेल खेल्छन्। तर कोभिडका कारण लकडाउन भएपछि नेपालमा पब्जी मोबाइल जस्ता खेल प्रख्यात हुँदै गयो।

हाल फिफामा प्रायोजकको समेत कमी रहेकाले उहाँले आफ्नै हिसाबले खेल यात्रा अघि बढाउनुभएको छ । फुटबल खेल्ने हुँदा गुरुङ कुनै टोलीमा पनि आबद्ध हुनुहुदैन ।

स्क्रीन हेर्दै एक बालिका
अनलाइन खेलले गर्न सक्छ असर
ईस्पोर्ट्समा रमाउनेहरूले लामो समय स्क्रिनमा बिताउनुपर्ने र त्यसले गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्ने चिन्ता अभिभावक तथा सरोकारवालाहरूले उठाउँदै आएका छन्।

केही समय अघि सांसद आशाकुमारी विकले पब्जी र फ्री फायर लगायतका अनलाइन गेमहरू बन्द गर्नुपर्ने विषय सदनमा उठाउनुभएको थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन।

यस्ता खेल अत्यधिक खेल्नबाट परिवारले रोक्दा अप्रिय घटना घटेको विवरणहरू पनि सार्वजनिक भएका छन्।

केही देशले बालबालिकालाई कति समय स्क्रीनमा बिताउन दिने भनेर कानुन बनाउन थालेका छन् ।

अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरू बताउँछन्।

तर पछिल्लो समय सूचीकृत संस्थाहरूबाट खेल्ने खेलाडीहरूको हकमा भने अवस्था बिस्तारै फेरिँदै गएको भट्टराई बताउनुहुन्छ ।

डङ्गोलका अनुसार खेलाडीहरूलाई खेलकै लत नपरोस् भनेर २४सै घण्टा खेल्दै मा राम्रो नभइने लगायतका कुराहरू बारे सङ्घले जानकारी गराउने गरेका छन्।

त्यस्तै ईस्पोर्ट्सबारे विकास भएका पाठ्यक्रम पनि खेलाडीहरूलाई वितरण गर्ने तयारी गरिएको सङ्घको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?