२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

नयाँ प्रविधिको प्रयोगले मकै खेतीमा सुधार, देखिएन रोग

दाङ, भदौ १ । दाङमा नयाँ प्रविधिको प्रयोग गरेर गरिएको मकै खेतीमा सुधार देखिएको छ । किसानहरुले गरेको मकै खेतीमा सुधार देखिएको हो । नयाँ प्रविधिको प्रयोगबाट गरिएको खेतीमा कुनै पनि रोगको प्रकोप देखिएको छैन । तर परम्परागत रुपमा गरिएको मकै खेतीमा भने रोग किराले क्षेति पुर्‍याइसको छ ।

तुलसीपुर– ८ की लोककुमारी गिरीले ६ कठ्ठा खेतमा नयाँ प्रविधिबाट मकै खेती गर्नुभएको छ। उहाँले आफ्नो मकै खेतिमा कुनै पनि रोगको प्रकोप नदेखिएको बताउनुभयो । तर छिमेकीले लगाएको मकै बारीमा रोग किराको प्रकोपले मकैका बोट सुकेका छन् ।

नयाँ प्रविधिमा लाइनमा प्राविधिक यन्त्रको प्रयोग गरेर मकै रोपिने गरिन्छ भने दुई पटक गोडमेल गर्ने गरिन्छ । परम्परागत शैलीमा भने हलोको सियोमा मकै रोप्ने र एक पटक गोडमेल गर्ने गरिन्छ । तुलसीपुर भित्र करिब ३५ सय हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका मकै खेती गरिएको छ । ती मध्ये परीक्षणकारुपमा यो वर्ष नयाँ प्रविधिको प्रयोग गरेर मकै खेती गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले ३५ सय हेक्टर क्षेत्रफलमध्ये तीस प्रतिशत क्षेत्रफलमा मकै खेतीमा रोग किराको प्रकोप देखिएको बताउनुभयो । किसानहरुले मकै खेती गर्नेक्रममा माटोको उपचार र मकै खेतीमा परम्परागत शैलीका कारण रोग किराको प्रकोप देखिएको गौतमले जानकारी दिनुभयो।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, ८ वडामा सबैभन्दा बढी मकै खेतीमा क्षति पुगेको छ । साना किसान परियोजना दाङका संयोजक सुधा मिश्रले यो वर्ष परीक्षणका रुपमा खेती गरिएको र परीक्षणकै क्रममा गरिएको खेतीमा उत्पादन बढी र रोग किरा कम देखिएकाले आगामी वर्षदेखि व्यवसायिकरुपमा उत्पादनका लागि अघि बढाइने बताउनुभयो ।

परियोजनाले किसानहरुका लागि प्रविधियुक्त मेसिन उपलब्ध गराउँदै आएको छ । निरीक्षणका क्रममा पुग्नुभएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले नयाँ प्रविधिका प्रयोगका साथै रैथाने प्रजातिको मकैको बिउँ रोप्ने कार्यलाई समेत प्रोत्साहन गरिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?