२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

भूमिहीन सुकुम्वासीको पीडा : नेताको आश्वसन पाए, जमिन पाएनन्

दाङ, असोज १ । दाङ घोराही उपमहानगरपालिका–९ का अलि भुषाल (३१) सुकुम्वासी हुनुहुन्छ । उहाँको न पुस्ताको नाममा जग्गा थियो, न अहिले उहाँको नाममा नै छ । बस्नका लागि एउटा घर मात्र छ । यहि घर पनि ऐलानी जमिनमा छ । चार जना परिवारको लालन पालन गर्न भुषालले ज्याला मजदुरी गर्नुपर्छ ।

जीवन चलाउन ज्याला मजदुरी गर्नु परेपनि भुषालको मनमा भने घर भएको जति जमिन छ, त्यो आफ्नो नाममा भए सन्तोष हुन्छ कि भन्ने लागेको छ । पुगनपुग एक कट्ठा जमिनको जग्गाधनी पुर्जा (लालपुर्जा) पाउन सके जीवनमा अप्ठेरो परेको समयमा कतै काम लागिहाल्छ कि भन्ने उहाँमा छ ।

तर जग्गाधनी पुर्जा पाउन उहाँलाई निकै सास्ती भइरहेको छ । यस अघि २०७४ को निर्वाचनमा अब छिट्टै लालपुर्जा पाउछौँ भन्दै नेताहरुले भनेको कुरा भुषालको मनमा अहिले पनि ताजै छ । तर नेताहरुले भनेकै ५ वर्ष पुग्यो, जग्गा नापजाँचसमेत हुन सकेको छैन ।

उहाँलाई अहिले नेताहरुले आश्वसन दिने मात्र होकि जस्तो लाग्ने गरेको छ । ‘नेताहरु घर–घर आएर लालपुर्जा छिट्टै पाइन्छ भने, होकि भन्ने पनि लाग्यो,’ उहाँले भन्नुभयो, ‘पछि कता लालपुर्जा दिन काम सुरु भयो भनियो तर त्यो कता हरायो, हामीले पाएनौँ । नेताहरु त आश्वसन मात्र दिन्छन कि लागेको छ ।’

लालपुर्जा पाउनका लागि वडा कार्यालयमा फारम भरेको दुई वर्ष बढी भइसकेको भन्दै उहाँले अहिले के भइरहेको छ भन्नेमा अनविज्ञता प्रकट गर्छन । ‘दुई वर्षपहिले नै हो वडा कार्यालयमा फारम भरेको । त्यो के भएको छ केहि थाहा छैन् ।’ भुषालले भन्नुभयो ।


राप्ती गाउँपालिका वडा नम्बर– ७ का भीमबहादुर चौधरी ऐलानी जमिनमा बस्न थालेको वर्षौँ भइसकेको छ । उहाँको नाममा एकधुर पनि जमिन छैन । घरबास भएको जमिन ऐलानी हुँदा उहाँले विजुली जोड्नदेखि लिएर अन्य थुप्रै समस्या भोग्नु परेको छ । उहाँलाई लाग्छ– ‘अझै अरु थुप्रै वर्ष ऐलानी जमिनमा नै समस्या भागेर बस्नुपर्छ ।’

भीमबहादुरलाई पनि नेताहरुले आश्वसन नदिएको होइन । नेताहरु घरमा आए थुप्रै पटक नेताहरुले तिम्रो जमिनको लालपुर्जा बन्छ भनिसकेका छन् । तर उनीहरुको त्यो आश्वसन वर्षौँदेखि पूरा हुन सकेको छैन । चौधरीले भन्नुभयो, ‘नेताहरु त बोल्ने हुन । उहिल्यै लालपुर्जा दिने कुरा थियो । अझै पनि पाउन सकेको छैन ।’



गढवा गाउँपालिका वडा नम्बर ५ कि शान्ति चौधरी तरकारी खेति गर्नुहुन्छ । उहाँको पनि आफ्नो जमिन छैन । उहाँले आफ्नो जमिन नहुँदा ८ कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेति गरेर घरपरिवार धानिरहनुभएको छ ।

उहाँलाई अहिले आफ्नो जमिन नहुँदा तरकारी खेति गर्न गाह्रो भइरहेको छ । ठेक्कामा जमिन लिन पनि भनेको जस्तो उहाँले जमिन पाउन सक्नुभएको छैन । जसले गर्दा शान्तिको अझ धेरै तरकारी खेति गर्ने सपनामा तुषारापात परेको छ ।

उहाँले सरकारले दिने अनुदानका कार्यक्रम पनि पाउन सक्नुभएको छैन । किन भने सरकारको अनुदान पाउन १ विघा बढि जमिनमा तरकारी खेति गरेको हुनुपर्छ । ‘सरकारले एक विघा बढि जमिनमा खेति गर्नेलाई मात्र अनुदान दिनेरहेछ । मेरो छैन,’ उहाँले भन्नुभयो, ‘यो निमय संसोधन हुनुपर्छ र कम जमिनमा खेति गर्नेहरुले पनि अनुदान पाउनु पर्छ ।’

उहाँले सरकारले नै खेति गर्ने कृषकलाई जमिन दिनुपर्ने माग गर्नुभयो । अहिले प्लटिङ गरेर जमिन घटिरहेको भन्दै उनले सरकारले साना कृषकहरुलका लागि सोच्नुपर्ने बताउनुभयो । ‘आफै सुकम्बासी हौँ । आफ्नो जमिन छैन,’ उहाँले भन्नुभयो, ‘थोरै जमिनमा खेति गर्नेलाई पनि सरकारले अनुदान दिनुपर्छ ।’

यी माथिका उदाहरणबाट भुमिहीन सुकुम्बासी कति पीडामा छन् भन्ने कुरा प्रष्टै देखिन्छ । जसको आफ्नो जमिन छैन उसले सरकारी कामकाजदेखि लिएर दैनिकी चलाउन सास्ती खेप्नु परेको छ । सरकारले भने भुमिहीन सुकम्बासीलाई लालपुर्जा वितरण गर्न बनाइएका आयोग खारेज गर्दै आफ्नो अनुकुल फेरि आयोग बनाउँदै कर्मचारी भर्ती केन्द्र बनाउँदै आएको छ ।

जसले गर्दा पटक–पटक भुमिहीन सुकुम्बासी माथि सरकारले खेलवाड गर्दै आएको घोराही– १४ कि सुकुम्बासी रचना कुमाल बताउनुहुन्छ । वडा सदस्यसमेत रहकी कुमालले जनप्रतिनिधि हुनुअघि अरुका लागि आवाज उठाउँदै आएको बताउँदै आवाज सुन्ने ठाउँमा पुगेर पनि काम गर्ने सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भुमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने नाममा सरकारले समुदायलाई तर्साउने काम गरिहेको बताउनुभयो ।

‘लामो समयदेखिको यो काम छिटो सक्नुपर्छ । म सुकुम्बासी मात्र होइन जनप्रतिनिधि पनि हुँ,’ उहाँले भन्नुभयो, ‘तर लालपुर्जा दिन ठोस पहल हुन सकेको छैन । छिटो पहल गरेर पटक–पटक लालपुर्जा दिने भन्दै समुदाय तर्साउने काम बन्द हुनुपर्छ ।’

No description available.

नेताहरु जनालाई ठगी गरिरहेका छन् : अध्यक्ष चौधरी
भुमिहिन सुकुवासी तथा मुक्त कमैयाका लागि आवाज उठाउँदै आएको सोसाइटी वेलफर एक्सन नेपाल (स्वान)का अध्यक्ष कृष्ण चौधरीले नेताहरुले जनालाई ठगी गरिरहेको बताउनुहुन्छ ।

उहाँले भुमिहीनलाई जग्गा दिने, सुकुम्बासीलाई लालपुर्जा दिने, मुक्त कमैयालाई व्यवस्थित बसोबास मिलाउने राजनीतिक दलका नेताहरुले पटक–पटक बाचा गरेको भएपनि उनीहरुले काम गर्न नसकेको बताउनुभयो ।

मात्र चुनावमा आउने र भोटका लागि राजनीतिक मुद्दा बनाई जनता ठग्ने काम नेताहरुबाट भइरहेको उहाँको भनाई छ । नेताहरुले चाहेमा कयौँ असम्भव कुराहरु सम्भब देखिने भन्दै उहाँले जनताका समस्यामा उनीहरु इमान्दार नदेखिनु विडम्बनापूर्ण रहेको बताउनुभयो ।

‘राजनीतिक परिवर्तन धेरै भयो तर आर्थिक र सामाजिक परिवर्तन नभएकै कारण हामी पछि परेका छौँ । यसका लागि राजनीतिक दलका नेताहरु इमान्दार भएर काम गरेका छैनन्,’ उहाँले भन्नुभयो, ‘कसरी आफू र आफ्नालाई अवसर दिने हो भन्नमै व्यस्त छन् ।’ उहाँले अगाडि भन्नुभयो, ‘बहुदल अघि पञ्च्यातले गर्दा केहि भएन भनियो । बहुदल आएको पनि ३३ वर्ष हुँदासम्म नागरिकका समस्या भने अझै उस्तै छ । ४५ सालमा दिएको पुर्जाले नै आजसम्म समाज चलिरहेको छ ।’

चौधरीले राजनीतिक दलहरुलाई ओठे प्रतिबद्धता नगर्ने आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘अब ओठ प्रतिबद्धताले मात्र पूग्दैन । नयाँ नेपाल आएको भनिएको छ । अब नेताहरु पनि पुरानै मानसिक्ताबाट मुक्त भएर नयाँ सोचले काम गर्नुपर्छ र छिटो भूमि सम्बन्धी समस्या समाधान गर्नुपर्छ ।’

No description available.

दुई वर्षमा भुमिसम्बन्धी समस्या समाधान हुन्छ : प्रमुख रेग्मी
राष्ट्रिय भुमि आयोग दाङका प्रमुख लेखराज रेग्मीले अबको दुई वर्षमा भुमिसम्बन्धी समस्या समाधान हुने बताउनुभयो । उहाँले अहिले काम भइरहेको बताउँदै दुई वर्षभित्रमा भुमिसम्बन्धी समस्या सक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

‘नाप नक्सा, निस्सा दिने काम भइरहेको छ । यो अनुसार काम भएमा लक्ष्यअनुसार काम हुन्छ,’ उहाँले भन्नुभयो, ‘छुट आवेदन कसरी लिने भन्नेमा छलफल भइरहेको छ ।’ आयोगले विगतका आयोगले गरेका कामलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार जिल्लामा लालपुर्जा पाउनका लागि ६० हजार आवेदन परेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?