२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

तुलसीपुर एयरपोर्ट बिस्तार हुन्छ : मन्त्री श्रेष्ठ

दाङ, असोज ६। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको बिस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिहीबार स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताउनभयो ।

‘एयरपोर्ट विस्तारको राम्रो सम्भावना छ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘एयरपोर्टको स्तरोन्नति गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने बनाउन पहल गर्नेछु ।’ दशैं लगतै सर्भेको काम सुरु हुने र त्यसपछि बजेट सुनिश्चितता गरी धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

‘हामी दाङ एयरपोर्ट विस्तारका लागि अवस्था अवलोकनका लागि आएका हौँ’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘एयरपोर्ट निर्माण भएको लामो समय भएको रहेछ । निरीक्षण गर्दा बिस्तारको सम्भावना पनि छ । अब छिट्टै हामी ७२ सिटे जहाज अवतरण गर्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तारमा लाग्छौँ ।’

विस २०१७ सालदेखि नियमित सञ्चालनमा आएको एयरपोर्टको स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन नसकेको स्थानीयको बुझाइ छ । मन्त्री श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?