२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

रुकुम पूर्व बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो (नामावलीसहित)

दाङ, असोज ६ । रुकुम पूर्वमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । काठमडौंबाट रुकुम पूर्वको रुकुमकोटकोट तर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस बिहीवार दिउँसो भूमे ३ क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका–५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने गाउँपालिका–६ का २ वर्षीय बालक सिजन खड्का र उनकी आमा ४० वर्षीया लक्ष्मी खड्का रहेका छन् ।

त्यस्तै दुर्घटनामा परि बस चालक रामेछापका २६ वर्षीय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी जानकारी दिनुभयो। दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र दुई जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये गम्भीर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । ८ जनाको भने जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।

गम्भीर घाइते हुनेहरुमा सिस्ने गाउँपालिका–६ का ३६ वर्षीय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षीय साइमान खड्का, १९ वर्षीया निरुता थापा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१३ का ३५ वर्षीय डम्बर नेपालीलाई कोहलपुर पठाईएको छ । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर पठाइएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?