२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

लुम्बिनी प्रदेशलाई मानवअधिकारमैत्री प्रदेश बनाउने छौं–मन्त्री आचार्य

दाङ, माघ ८ । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले मानवअधिकारको रक्षाका लागि लुम्बिनी प्रदेश सरकार सदैव कटिबद्ध रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ । मानवअधिकार एलायन्सको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री आचार्यले भन्नुभयो, ‘मानवअधिकारको रक्षाका लागि लुम्बिनी प्रदेश सरकार सदैव लागिपर्नेछ । मानवअधिकार बिरोधी गतिविधि प्रदेश सरकाबाट हुने छैनन् भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

राज्य पक्षबाट मानवअधिकार हननका घटना घट्ने गरेको पाइने भन्दै मन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार यसतर्फ सजग रहने बताउनुभयो । मानवअधिकार एलायन्सले उठाएका मुद्दामा प्रदेश सरकारको सहकार्य रहने बताउँदै मन्त्री आचार्यले सबै संघसंस्थाको सहकार्य र हालेमालोबाट नै लुम्बिनी प्रदेशलाई मानवअधिकारमैत्री प्रदेश बनाउनतर्फ लागिपर्ने बताउनुभयो । ‘राज्य पक्षबाट नै बेलाबेलामा मानवअधिकार हननका घटना भइरहेका हुन्छन् । हामी यसतर्फ सचेत रहनेछौं’, ‘प्रदेशमा क्रियाशील संघसंस्थासँगको सहकार्यमा लुम्बिनी प्रदेशलाई मानवअधिकारमैत्री प्रदेश बनाउने छौं ।’
शुन्यबाट प्रदेशको राजधानीको निर्णय कार्यान्वयन सुरु गरेको भन्दै मन्त्री आचार्यले निकट भविष्यमै लम्बिनी प्रदेशलाई सफल प्रदेश बनाउने बताउनुभयो । प्रदेश सरकारको विषयलाई लिएर भ्रम पैदा गर्ने क्रम सुरु भएको भन्दै मन्त्री आचार्यले प्रदेश सरकारको सहयोगी बन्न सबैलाई आग्रह गर्नुभयो । ‘हामीले प्रदेश राजधानीको निर्णयलाई शुन्यबाट सुरु गरेका छौं । पूर्वाधारको अभावका बीचबाट हामीले सरकारका गतिविधि अगाडि बढाएका छौं’, मन्त्री आचार्यले भन्नुभयो, ‘यहाँका सरोकारवालाहरुको सहयोग प्रदेश सरकारका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने बेला कुनै पक्षबाट भ्रम पैदा गर्ने कार्य पनि भएको छ । यसलाई रोक्नतर्फ लाग्न सबैलाई आग्रह गर्दछौं ।’
लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने कार्यमा सरकार लागिपरेको भन्दै उहाँले प्रदेशबासीलाई सुन्दर राजधानी प्रदान गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?