२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा : मन्त्री गिरी

दाङ, माघ ९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उहाँले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताउनुभयो ।

“बाँकेमा फैलिएको दादुराको अवस्थाबारे मैले हिजोमात्र बुझेर आएको छु, दादुरा विरुद्धको खोप कार्यक्रम त्यहाँ अहिले प्रभावकारी रूपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “दादुरा नियन्त्रणमा आउने स्थिति रहेको छ । एक महिनामा नियन्त्रणमा आउने छ भन्ने हामीलाई विश्वास छ ।”

उहाँले स्थानीय जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि घर नछुटाइकन बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन निर्देशन दिएको बताउनुभयो । मन्त्री गिरीले बाँके हुँदै अन्य ठाउँमा पनि दादुराको प्रकोप फैलिन थालेपछि चिन्ताको विषय भएको बताउनुभयो । मन्त्री गिरी गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशैभरका अस्पतालको पूर्वाधारको बारेमा वैज्ञानिक अध्ययन गरी पूर्वाधार बनाइने बताउनुभयो ।

“देशभरका अस्पतालको पूर्वाधार कुन अवस्थामा कस्तो रहेको छ भन्नेबारेमा हामी अध्ययन गर्दछौँ र कार्ययोजना बनाई पूर्वाधार विकासमा जोड दिन्छौँ”, उहाँले भन्नुभयो, “आधारभूत अस्पतालका भवन बन्ने प्रक्रियामा छन् । ती भवनलाई समयमा नै सम्पन्न गरिने छ ।”

उहाँले दूरदराजमा जनशक्ति पु¥याउन नसकिने, चिकित्सक जान तयार नहुने जस्ता समस्या देखिएको भन्दै जनशक्तिको ठोस कार्ययोजना बनाई व्यवस्थापन गरिने भनाइ राख्नुभयो । उहाँले खरिद प्रक्रियामा कहीँ पनि ‘सेटिङ’ हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “प्रत्येक कुरामा पारदर्शी हुन्छ । जनताको थोपाथोपाबाट सङ्कलन गरिएको राजस्वलाई कहीँ कतैबाट दुरुपयोग हुने दिइने छैन”, उहाँले भन्नुभयो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्यवन गरिने उहाँको भनाइ थियो । मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?