२ फागुन २०८१, शुक्रबार
14 February , 2025,Friday

दाङमा गर्मीले विद्यार्थी बेहोस

दाङ, जेठ ३० । दाङको तुलसीपुर उपमहानगपालिका–११ उरहरीस्थित अमर माध्यमिक विद्यालयमा गर्मीले विद्यार्थी बेहोस भएका छन् । बुधबार मात्र ८ जना विद्यार्थी बेहोस भएको विद्यालयका शिक्षक निर्मल वलीले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार यसअघि (हिजो–अस्ति) का दिनमा पनि एक/दुई जना विद्यार्थी बेहोस हुने गरेको र केही समयको आरमपछि होसमा आउने गरेका थिए । तर, बुधबार बिहान विभिन्न कक्षा कोठमा बसेकै समयमा ८ जना विद्यार्थी बेहोस भएको शिक्षक वलीले बताउनुभयो ।
 
अहिले विद्यार्थीको उरहरी स्वास्थ्य चौकीका प्रमुख अहेव चित्रबहादुर वली विद्यालयमै पुगेर उपचार गरिरहनुभएको शिक्षक वली जानकारी दिनुभयो । गर्मीले शरीरमा पानीको कमी भएपछि विद्यार्थीलाई समस्या देखिएको अहेव वलीले बताउनुभयो ।
 
उरहरी क्षेत्रमा अहिले तातो हावा (लू) चलेको छ । ‘यहाँ (उरहरी) मा हावा तातो हावा चलेको छ । जसले गर्दा विद्यार्थीलाई समस्या भएको छ’, शिक्षक वलीले भन्नुभयो ।
तुलसीपुर क्षेत्रमा यही १८ गतेदेखि २२ गतेसम्म गर्मी बिदा गरिएको भए पनि पानी परेपछि २१ गते नै विद्यालय सञ्चालन गरिएको थियो । तर, दुई–तीन दिनदेखि फेरि गर्मी बढेको छ । गर्मी बढेपछि पुनः विद्यालय बन्द गर्नुपर्ने माग उठिरहेको छ । ‘मनसुन भित्रिएपछि विद्यालय सञ्चालन गरेका थियौं । तर, फेरि गर्मी बढेको छ । विद्यालय बन्द गर्नुपर्ने माग पनि आइरहेको छ’, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखामा कार्यरत बमहादुर पुन मगरले भन्नुभयो । उहाँले अधिकांश विद्यालय अहिले टीन (जस्ता) ले छाएको हुँदा पनि विद्यार्थीलाई पढ्न असहज भएको हुन सक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?