२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

अट्वारी पर्वको के छ महत्व ?

दाङ, भदौ १२ । आज थारू समुदायले ‘अट्वारी पर्व’ धुमधामका साथ मनाउँदैछन् । दाङसहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् ।

यो पर्व भाद्र शुक्ल पक्षको पहिलो आईतबार अर्थात श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आईतबार मनाइने थारु अगुवाहरु बताउँछन् । तर अट्वारी पर्व मनाउने विषयमा थारु समुदायमा विवाद पनि देखिने गरेको छ ।

आज हामीले अट्वारी पर्वका अवसरमा पर्व मनाउन किन हुन्छ विवाद ? पर्वको विशेषता के हो? पहिले र अहिलेका पुस्ताले पर्वलाई मनाउने परम्परामा केहि फरक छ ? लगायतका विषयमा कुराकानी गरेका छौँ ।

प्रस्तुत छ दाङका थारु अगुवा तथा साहित्यकार छविलाल कोपिलासँग गरिएको कुराकानीको सम्पादित अंश ः


अट्वारी पर्व कस्तो पर्व हो ?
अट्वारी पर्व भनेको खारमा यो थारु समुदाय एउटा प्रकृति पुजक भएका कारणले यस पर्वमा सूर्यलाई पुजा गर्ने गरिन्छ । सूर्य भनेको रवी यसलाई खासमा अग्नीका रुपमा पनि लिइन्छ । त्यसैले यस पर्वलाई आइतबार मनाइन्छ । आइतबार मनाइने भएका कारण हाम्रो भाषामा आट्वारी भनेको आइतबार भन्ने हुन्छ ।

पूरानो परम्परा हेर्ने हो भने भदौ महिनादेखि लिएर दशैसम्मको सबै आइतबार वर्त बस्ने चलन थियो । जुन अहिले छैन । पछि विभिन्न कारणले गर्दा सबै आइतबार बस्ने भएन । अट्वारी पर्व आयो भने प्रत्येक वर्ष केहि न केहि विवादहरु भएको हामी सुन्छौँ । यस वर्ष पनि विवाद देखिएको छ ।

वास्तवमा यो विवाद, विवाद मात्र बनाइएको हो । धेरैको तर्क आट्वारी पर्व तिज पर्वको पछि मनाउने भन्ने छ । पहिले भदौ महिनादेखि दशैसम्मको ५ वटा आइतबारमा वर्त बसेर यो पर्व मनाइन्थ्यो । तर पछि धेरै खर्च हुने भएपछि यो पर्व पहिलो आइतबार मात्र मनाउने गरियो ।

यो तिज पछि मनाउनु पर्छ भन्ने तर्क छ । पायः यो के हुन्छ भने कुशे औँसीको पहिलो आइतबार तिज पछि नै पर्छ तर अपवादको रुपमा १० वर्ष पछि ८ वर्षपछि यो आइतबार तिज अघि पनि पर्छ । त्यसैले धेरैजसो कुशे औँसीको पहिलो आइतबार तिज पछि पर्ने भएकाले त्यसमा अभ्यस्त भइसकेकाहरु तिजको पहिले मनाउने गर्दा विवाद हुने गरेको छ । यसो गर्नु हुँदैन । यो संमयोग मात्र हो ।

अट्वारी पर्वको आफ्नै मान्यता छ । यो पर्व पर्नका लागि कुशे औँसीको पहिलो र अष्टमीको दोस्रो आइतबार हुनुपर्छ । तिजसँग यसको कुनै सम्बन्ध हुँदैन । हामीले के बुझ्नु पर्छ भने अट्वारी मनाएको ४ वटा आइतबार पछि दशै आयो भने सहि समयमा आट्वारी मनाएको हौँ भनेर बुझ्नु पर्छ ।

कसरी मनाउने गरिन्छ अट्वारी पर्व ?
यो पर्व पुरुषहरु वर्त बसेर मनाउने पर्व हो । तर पछि महिलाहरु पनि वर्त बस्ने गर्छन । विशेष गरेर शनिबारका दिनमा हामीले यो भतर खाने भन्छ । हाम्रो दाङमा दड्कट्न खाने पनि भनिन्छ भने अरु ठाउँमा दर खाने पनि भनिन्छ । यहि दर खानका लागि हामीले शनिबार दिउँसभरी विभिन्न परिकार बनाउने हुन्छ । त्यसमा विशेष गरेर माछा हुनुपर्छ । यो दर हामीले रातीको भाले बास्नु भन्दा अघि नै खानुपर्छ । भाले बासेपछि भने खान पाइदैन ।

भाले बासेपछि दर खाएमा आइतबार वर्त बस्ने पाइदैन । बस्यो भने त्यो जुठो मानिन्छ । त्यसपछि आइतबार रोटी अनिवार्य रुपमा हुन्छ । अरु दही, फलफूल हुन्छ । यो दिउँसको एक दुई बजेसम्म तयार पार्नु पर्छ । रोटी पाकिसकेपछि अग्यारी (आगोमा हवन गर्ने ) दिने चलन छ ।

अर्को कुरा यो अट्वारीमा चखो आगो बाल्नुपर्छ । गन्यारी भन्ने काठ हुन्छ । त्यसलाई घोटेर आगो निकाल्ने र आगो बालेर रोटी पकाउने चलन छ। अग्यारी दिएसकेपछि हामीले अग्रासन निकाल्नु पर्छ । जुन अग्रासन भनेको खाने परिकार के हुन ती खानेकुराबाट चेलीबेटीका नाममा छुट्याइन्छ र वर्त बसेकाहरुले खाने गरिन्छ । खाने पनि साँझको सूर्य अस्ताउनु अघि मात्र खाने हो ।

आइतबारका दिन नुन खान पाइदैन । सोमबारका दिन माछाका सुकिटी अनिवार्य हुन्छ । खरिया, फुलौरी लगायत खाने कुरा हुन्छ । त्यो पनि विजोर संख्यामा त्यो ५, ९ वटा विजोर संख्यामा हुन्छ । सबै खाने कुरा तयार भयो भने फेरि आइतबारका जस्तै अग्यारी दिने र पातकै टपरीमा अग्यारी राख्ने चलन छ । त्यो निकालेपछि मात्र खाने गरिन्छ । त्यसपछि चेलीबेटीहरुलाई अग्यारी लगेर चेलीबेटीको घरमा गएर त्यहाँ उनीहरुले स्वागत गर्ने र त्यहाँ खानपिन रमाइलो भयो भने अट्वारी सकिन्छ ।

अट्वारी पर्वको मिथक के हो?
यो महाभारतसँग जोडिएको छ । महाभारतमा भिम भन्ने पात्र छन् । उनको यो अट्वारी पर्वसँग जोडिएको छ । कुरु क्षेत्रको लडाइ लड्न जानु भन्दा पहिले पाँच पाण्डपहरु रोटी पकाइरहेका हुन्छ तर लडाई उत्कर्षमा पुगेको हुन्छ । उनीहरु लडाइ लड्न गए र लडाई जितेपछि सुरुमा तावामा राखेको रोटी एकापट्टी मात्र पाकेको रोटी खाएर उनीहरुले भोक मेटाए भन्नेगरिन्छ । जुन अहिले अट्वारीमा एकापट्टी पकाएको रोटी खाने गरिन्छ ।

अर्को मिथक दंगीशरण राजासँग जोडिएको पनि छ । थारुहरुको राजा उनी हुन । उर्वसीका लागि कृष्ण र दंगीशरणको ठूलो लडाई हुन्छ । त्यो लडाईमा भिले दंगीशरणलाई सघाएको र लडाई जितेको भन्ने गरिन्छ । जुन अट्वारीसँग जोडिन्छ ।

अट्वारी पर्व मनाउने चलन कम हुँदै गएको भनिन्छ किन ?
किनभने एकचरण थियो । जनयुद्ध पहिले सबैले मनाए । तर अट्वारी मनाउँदा बढी जाँड खाने र जथाभावी सुत्दा युद्धको समयमा जे पनि हुन सक्ने भएपछि यस पर्वलाई रोक्ने अभियान नै चलेको थियो । र अर्को महामारीका कारण पनि हो । भदौमा अट्वारी पर्व सुरु भइसकेपछि झाडापखाला लाग्ने गरेको थियो । यसमा कारण के देखिएको थियो भने अट्वारी पर्वमा खाने कुराहरु खाएपछि देखिएको थियो ।

त्यसकारण यो धेरैमा यो पर्व मनाउनु हुँदैन भन्ने भयो । अर्को पुरुषहरु वर्त बस्ने छ । तर अन्य समुदायमा पुरुष वर्त बस्ने चलन छैन । यसको प्रभाव पर्दै गएपछि यसको महत्व कम हुँदै गएको देखिन्छ । यसले गर्दा केहि कम भएको देखिएको छ ।

तर पछिल्लो समयमा अट्वारी पर्व मनाउने चलन फेरि बढेको छ । सामाजिक सञ्जाल, प्रचार प्रसार भएपछि यसको महत्व बढेको छ र थारु अगुवाहरु यस पर्वको महत्वका विषयमा भन्दै संस्कृति बचाउने सचेत गराउँदा नयाँ पुस्ताहरु निकै महत्वका साथ यो पर्व मनाउन थालेका छन् । अहिले स्थानीय सरकारले विदा दिने थालेको छ । यसको महत्व पछि बढ्दै गएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?