२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

मुलुकको अस्थिरता सुधार्ने महत्वपूर्ण अवसर–निर्वाचन–स्थिर सरकार !

सविन प्रियासन

दाङ, कात्तिक १८। यही मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचन आउन अब दुई हप्ता बाँकी छ । निर्वाचनको मिति नजिकिदै जाँदा आम मतदाताहरु निर्वाचनबाट मुलुकमा विद्यमान अस्थिरता पूर्णरुपले हट्दै जान्छकि भन्ने आशा र अपेक्षामा छन् । मुलुकको यतिबेलाको अवस्था अत्यन्त दयनीय छ । कुनै पनि पेशाव्यवसाय सहज ढंगबाट चल्न सकेको छैन । दैनिकी गुजारा चलाउन नै सबै जसोलाई हम्मेहम्मे छ । यति अफ्ठेरो अवस्थाबाट मुलुक अगाडी बढेको छ कि जसको लेखाजोखा गरेर साध्य छैन ।

नेपालमा २०४६ सालको परिवर्तनपछि कामकाजी स्थायी सरकार बन्न नसकेको तीतो यथार्थता हामी सामु छ । जसले गर्दा प्रशस्त सम्भावना हुँदा हुँदै पनि मुलुक सही तवरबाट गतिशिल हुन सकेन । २०६२/०६३ को जनआन्दोलनपछि मुलुकले राजनीतिकरुपमा ठूलो उपलव्धी हासिल ग-यो । आम नेपाली राजनीतिक उपलव्धीपछि अब आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडी बढ्छ भन्नेमा आशाबादी थिए । तर विभिन्न कारणले गर्दा राजनीतिक उपलव्धीलाई संस्थागत गर्ने सवालमा स्थिर सरकार निर्माण हुन नसक्दा आर्थिक समृद्धिको यात्रा सही तरिकाले अगाडी बढ्न सकेन । हुँदाहुँदा त मुलुक यस्तो अवस्थामा आयोकि को मान्छे कतिबेला आफ्नो पेशाव्यवसायबाट पलायन हुने हो, भोली खान पाइने हो कि होइन भन्ने अवस्थामा मुलुक आइ पुगेको छ । मानिसहरु आफ्नो भविष्य सुरक्षित गर्नका लागि लाखौलाख खर्चिएर असुरक्षित मार्गबाट समेत विदेश गइरहेका छन् । यदि अब पनि निर्वाचन पछि मुलुकले स्थायीत्व पाउन सकेन, स्थिर सरकार निर्माण हुन सकेन भने अबको एकदुई वर्षमै नेपालको आधा भन्दा बढि मान्छेहरु विदेशीने निश्चित् । अहिलेसम्म नेपालमा जेजति बसि रहेका छन्, उनीहरुको आशा भनेको मंसिर ४ गते हुन लागि रहेकोे निर्वाचन पछि मुलुकले नयाँ रुपरंग फेर्छकि भन्ने हो ।


अस्थिरता अन्त्यका लागि स्थिर सरकार

नेपालमा ७ दशकको राजनीतिक गतिविधिको अवधिमा मुलुकले अहिलेसम्म स्थिर सरकार पाएको छैन । २०४६ सालपछि त झनै यस्तो रोग बस्योकि ९/९ महिनामा सरकार परिवर्तन गर्ने खेल राजनीतिक मैदानमा चलि रह्यो । २०६२/०६३ को आमूल परिवर्तन पछि जनताले मुलुकको समृद्धिका लागि स्थिर सरकार निर्माणमा टेवा पुगोस भनेर २०६४ सालमा नेकपा माओवादी केन्द्रलाई अत्यधिक मत दिएका थिए । तर विभिन्न जालझेल षड्यन्त्र अनि खुल्ला सरकार सञ्चालनको सवालमा परिपक्व नभएका कारण माआवादी केन्द्रले आफूले पाएको मताधिकारको आधारमा धेरैदिनसम्म सरकारको नेतृत्व गर्न सकने । त्यस अवधिमा पनि सरकार परिवर्तनको खेल भैरह्यो । २०७० सालमा नेपाली कांग्रेस पहिलो दल बन्यो तर उसले पनि सरकारको नेतृत्व धेरै दिन गर्न सकेन, सरकार परिवर्तन हुनेक्रम जारी रह्यो ।

२०७३ सालमा संविधानसभाबाट नयाँ संविधान बनेपछि भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले केही स्थानमा तालमेल गरेर निर्वाचन लढ्दा समेत नेकपा एमालेलाई जनताले भारी मतका साथ बिजयी बनाए । स्थानीय तहको निर्वाचनमा राम्रो मत पाएको एमालेले अब मुलुकको स्थायीत्वका लागी वाम र तथा प्रजातान्त्रिक शक्तिहरु दुई खेमामा बिभाजन हुन जरुरी छ भन्ने निष्कर्ष निकाल्दै नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने योजनासहित गठवन्धन ग¥यो । ९/९ महिनामा सरकार परिवर्तन हुने खेलबाट वाकक दिक्क बनेका नेपाली जनताले नेकपा एमालेको नेतृत्वमा निर्वाचनमा लढेको वामपन्थी गठवन्धनलाई दुईतिहाईको मत दियो । त्यसपछि नेकपा एमाले र माओवादी केन्द्र नेकपामा परिणत भयो । जनताको मतको कदर गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलली प्रधानमन्त्री हुनुभयो ।

केपी शर्मा ओलीले सत्ताको रस्साकस्सीकाबीच यस अगाडी सञ्चालन गरेको ९ महिने सरकारको पालामा उहाँले मुलुकको लागि केही नयाँ कुरा गर्न सकिन्छ, मुलुक परिवर्तन हुन्छ, मुलुक कसैको दाष होइन भन्ने कुरा स्थापित गर्न सफल हुनु भएको थियो । भारतको नाकाबन्दीमा समेत डटेर सामना गरेका कारण नेपाली जनता केपी ओलीप्रति सकारात्मक थिए । जुन कुरा २०७४ को निर्वाचनमा जनताले मत जाहेर गरेर पुष्टि गरे । त्यसपछि जनता माझ अत्यन्त लोकप्रिय केपी ओली नेकपा एक भैसकेपछि पार्टीभित्र अनि जनताको माझमा यसरी मनमनमा बस्न सफल हुनुभयोकी त्यो कुरा लामो समयसम्म एमालेकै नेतृत्व गरेका केही नेताहरुलाई सैह्य भएन । अभिभावक बन्नुपर्ने, सल्लाह सुझाब दिएर नेकपालाई झनै बलियो बनाउनुपर्ने नेताहरुले ओलीको वाहावाहीलाई कम गर्नका लागि प्रचण्डसँग अपवित्र षड्यन्त्रकारी साँठगाठ गरी ओलीलाई पार्टीभित्रै कर्नरमा राख्ने प्रयास भयो । यहाँसम्मकी देउवासँग मिलेर सत्ता परिवर्तन गर्नेदेखि नेकपा एमालेलाई टुक्राउनेसम्मको खेल यस अवधिमा भयो । जसले नेकपा ठूलो भएको भन्दा पनि ओलीको रिसले पार्टी फुटालेको थियो, वा अर्को गठवन्धन गराएको थियो, ती समूहहरुमा नेकपामा समाहित भएका ठूलो समूह (हिँजो नेकपा माओवादी केन्द्र) नेकपा एमालेमै रह्यो ।

एमालेमा रहेका हिँजो माओवादी केन्द्रमा काम गरेका नेता, कार्यकर्ताहरुलाई के विश्वास छ भने एमाले नेकपाकै निरन्तरता हो । यही विश्वासलाई आत्मसात गर्दै आजका दिनसम्म हजारौहजार नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र अनि समाजबादीलगायत अन्य दलहरुबाट एमालेमा प्रवेश गरिरहनु भएको छ । यदि एमाले खराब हुन्थ्यो, केपी शर्मा ओली खराब हुनुहुन्थ्यो भने एमालेप्रतिको आकर्षण आज बढ्ने नै थिएन । एमाले दिनदिनै ठूलो हुनुको पछाडी पनि नेकपा एमालेले देश र जनताको पक्षमा गरेको काम नै हो । नेकपा एमालेले गरेका असल कामहरुकै कारण जनताले अबको राष्ट्रिय शक्ति नेकपा एमाले हो, एमालेले नै यो देशलाई अब पाँच वर्षसम्म नेतृत्व गरेर मुलुकको भाग्य र भविष्य सुन्दर बनाउन सक्छ भन्ने आम जनविश्वास जनतामा परेको छ । यही कारण प्रतिपक्षमा बस्दाबस्दै नेकपा एमालेको आकर्षण देशव्यापीरुपमा बढेको छ ।

एमालेले अबको सरकारको नेतृत्व मात्र गर्ने छैन, पाँच वर्षको यो अबधिमा मुलुकको अहिलेको जटिल अवस्थालाई सरलिकृत गर्दै समाजलाई सुव्यवस्थित, समृद्ध बनाउनेछ । जुन कुरा नेकपा एमालेको चुनाबी घोषणापत्रबाट सार्वजनिक भैसकेको छ ।

यी माथिका प्रसँगहरु यहाँ किन उठाउन खोजिएको छ भने बलियो राष्ट्रिय शक्ति निर्माण गर्दै मुलुकलाई स्थायीत्व प्रदान गर्ने मुख्य मान्छे केपी शर्मा ओली नै हो । उहाँको कुसल नेतृत्वकै कारण आज नेकपा एमाले विभाजन हुँदा समेत एमालेप्रतिको चार्मिङ झनै ह्वात्त बढेको छ । यहाँसम्मकी एमालेलाई हराउन सकिदैन भन्ने विश्लेषण गरेर गठवन्धनका नाममा निर्वाचनमा भिड्ने खेल भैरहेको छ । नीति, विचार, सिद्धान्त नमिल्नेहरु केवल सत्तामा बस्नका लागि गठवन्धन गरेको सायद विश्वमै यो नमूना कुरा होला । मुलुकको समृद्धि र विकास गर्नका लागि, राजनीतिक परिवर्तनका लागि एकताबद्ध आन्दोलन, सहयात्रा सबै ठाउँमा हुन्छ, तर केवल मिलिजुली सरकार सञ्चालन गर्न र जनताले अति नै प्रिय मानेको शक्तिलाई रोक्नका लागि गठवन्धन सायदै कहि कतै हुँदैन ।

यतिबेलाको गठवन्धन पनि त्यस्तै हो । दर्जनौ पटक अस्थिर सरकारका कारण मुलुक धराशायी भएको नेपाली जनताले भोगी सकेका छन् । यस अर्थमा अब पनि अस्थिर सरकार जन्माउनका लागि जनताले भोट हाल्नेछन् भन्ने पक्षमा म छैन, जनता स्थिर सरकार चाहन्छन् । जनताले चाहेको जस्तो स्थिर सरकार अहिले गठवन्धनमा समावेश भएका कोही पनि दलबाट सम्भव छैन । स्थिर सरकार आउनका लागि कुनै एक दलको वहुमत अनिवार्य छ । गठवन्धनमा समावेश दलहरुले आफूलाई वहुमत पुग्ने गरी सिट बाँडफाँड नै नगरेकाले गठवन्धनले अब पनि सरकार चलाउने भनेको आलोपालो नै हो । तर नेकपा एमालेले यतिबेला एकल वहुमत आउने किसिमले आफूलाई निर्वाचनमा होमेको छ । एमालेको वहुमत आएको खण्डमा, उसले अब बन्ने नयाँ सरकारमा आफूसँग केही ठाउँमा तालमेल गरेका र अन्य दलहरु जो समृद्धिको यात्रामा जोडिन चाहन्छ ती दल तथा सांसदलाई समावेश गराउनेछ । नेकपा एमालेको वहुमत आउनु भनेको मुलुकमा पाँच वर्ष पहिलो पटक सरकार सञ्चालन हुनु हो ।


स्थिर सरकारको फाइदा

हाम्रो मुलुक दुई ठूल छिमेकी देशहरुले घेरिएको छ । विश्वमै आर्थिकरुपमा हेर्दा चीन अनि भारत उच्च स्थानमा छन् । ती देशहरुमा आर्थिक विकास हुनुको पछाडी स्थिर सरकारले ठूलो काम गरेको छ । छिमेकी मुलुक चीनमा अहिले पनि कम्युनिष्ट व्यवस्था छ । त्यहाँ नेपालमा जस्तो ९र९ महिनामा सरकार परिवर्तन हुँदैन । जसले सरकारको नेतृत्व गर्छ, उसले चीनको समग्र विकासलाई गतिदिने योजना, कार्यक्रमहरु आफ्नो अवधिभरि सञ्चालन गर्छ । छिमेकी मुलुक भारतमा केही अवधि पूर्णरुपमा स्थिर सरकार सञ्चालन भयो । बीचको केही अवधि मिलिजुली सरकार भारतमा बन्ने खेल सुरु भयो । जतिबेला भारतमा मिलिजुली सरकार सञ्चालन भयो, त्यतिबेला भारतको आर्थिक अवस्था अत्यन्त दयनिय बनेको थियो । तर पछिल्लो अवधिमा भारतीय जनताहरुले स्थिर सरकारले नै मुलुकको समृद्धि र विकास गर्न सक्दो रहेछ भन्ने मान्यतालाई अख्तियार गरी मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टीलाई वहुमत दिए । पाँचवर्ष सम्म मोदीले यसरी विकास गरेकी आज भारत विश्वकै बलियो अर्थतन्त्र भएको मुलुकमा रुपान्तरण भएको छ । मोदीले राम्रो काम गरेपछि दोस्रो कार्यकालमा पनि मोदीलाई वहुमत दिएर भारतीय जनताले सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएका छन् ।

भारतीय जनताले दिएकै मतका कारण यतिबेला मोदीले दोस्रो कार्यकालका लागि भारतको नेतृत्व सम्हालि रहेका छन् । यो कुरा यहाँ किन उठाउन खोजिएको हो भने नेपालमा पनि जसले सत्ता सम्हाले पनि समृद्धि र विकासका लागि एकल वहुमत अनिवार्य छ । गठवन्धनमा सहभागि नेपाली कांग्रेस जो नेपालकै सबै भन्दा पुरानो पार्टी हो, त्यो पार्टी समेत कम्युनिष्टहरु टुक्राटुक्रा भएको समयमा एकल सरकारको नेतृत्व गर्न सक्छु भन्ने हिम्मत नगरेर मुलुकलाई धराशायी बनाउने अल्पतको सरकार नेतृत्व गर्ने खेलमा लाग्यो । जसले गर्दा पनि पछिल्ला दिनहरुमा कांग्रेसमा आस्था राख्ने आम नेता तथा कार्यकर्ताहरु नेकपा एमालेलाई रोज्न बाध्य बने । यसैगरी जनयुद्धको कुसल नेतृत्व गरेको माओवादी केन्द्र यतिसम्म लाचार बन्योकि जनयुद्धमा नलरखराएका उसका कदमहरु खुल्ला राजनीतिमा आउँदा अगाडी बढ्नका लागि अरुको साहरा लिनुपर्ने नीतिमा डुव्यो । जुन कुरा माओवादीमा आस्था र विचार राख्ने परिवर्तनकामी नेता, कार्यकर्तालाई मन परेको थिएन । जसले गर्दा यतिबेला नेकपाकै निरन्तरताकारुपमा रहेको एमालेमा दिनदिनै सयौ नेता, कार्यकर्ताहरु माओवादी छाडेर एमालेमा समाहित भैरहेका छन् । जुन कुरा निर्वाचनसम्म र निर्वाचन पछि पनि यो प्रक्रिया जारी रहने सम्भावना देखिएको छ ।


दाङमा एमाले

दाङ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा पनि यतिबेला नेकपा एमालेका महासचिव शंकर पोख्रेलको जिल्ला हो भनेर चर्चामा छ । दाङ नेकपा एमालेको सांगठनिक जीवनको कुरा गर्नु पर्दा संसदीय राजनीतिमा एमालेको बलियो शक्ति भएको जिल्ला होइन । लामो समयदेखि कांग्रेस नेता खुमबहादुर खड्काको पकडमा रहेको दाङ, केही समय नेकपा माओवादी केन्द्रको पकडमा थियो । क्रमशः खड्का पार्टीमा कमजोर बन्दै जानु, माओवादी केन्द्रले आफूले देखाएको सपना जनता माझ सार्थक बनाउन नसक्नु, लगायतका कारणहरु अनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार गरेको नीति, कार्यक्रमलाई नेता शंकर पोख्रेलले गृहजिल्लामा उतार्नुलगायतका पक्षहरुले यतिबेला दाङमा नेकपा एमाले यति बलियो बनेको छ कि आज एमालेको बिरुद्धमा गठवन्धन निर्वाचन भिँड्दैछ । यति हुँदा हुँदै पनि जिल्लाभर अन्य पार्टीबाट नेकपाा एमालेमा सामाहित हुनेक्रम रोकिएको छैन । एमालेप्रतिको दाङमा आकर्षण बढ्नु, हिँजोको भन्दा पनि धेरै मत स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गर्नुलगायतका कुराहरुलाई हेर्दा नेकपा एमालेले यस पटक पनि दाङमा राम्रो नतिजा ल्याउनेछ ।

दाङबासीलाई राम्रोसँग अनुभव छ, हिँजोका दिनमा अभिभावकको जिम्मेवारी वहन गर्नु भएका स्वर्गीय नेता खुमबहादुर खड्का हुँदा दाङले धेरै हदसम्म राष्ट्रिय राजनीतिमा नेतृत्व गरेको िथयो । यतिबेला त्यही स्थानमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल पुग्नु भएको छ । उहाँकै नेतृत्वमा दाङलाई स्थायी राजधानी घोषणा गर्न सफल भइएको हो । अहिले पनि राजधानीका कामहरु खासै दाङबाट भएका छैनन् । यसका साथै पोख्रेलकै नेतृत्वमा एमालेको प्रदेश अनि केन्द्रीय सरकारले अरबौ बजेट दाङमा खर्चिएको छ । जुन अहिलेसम्मकै सबै भन्दा ठूलो बजेट हो दाङका लागि । एमालेको सरकार बनेको खण्डमा नेता शंकर पोख्रेलले अर्थमन्त्रालयकै जिम्मेवारी सम्हाल्नेमा कुनै शंका छैन । यदि उहाँले अर्थमन्त्रालय सम्हाल्नु भयो भने एकातिर पार्टीको महासचिव, अर्को तर्फ जिम्मेवार मन्त्रालयको वागडोर, त्यतिबेला अहिलेको तुलनामा स्वाभाविकरुपमा दाङमा झनै ठूलो बजेट पर्नेछ । यी र यावत कुराहरुले गर्दा दाङबासी नेकपा एमालेप्रति आकर्षित भएका हुन् । दङालीको आकर्षणलाई एमाले महासचिवले भोलिका दिनमा यहाँको समृद्धि र विकासलाई उचाई दिएर झनै बढाउनु हुनेछ ।

निष्कर्ष
यतिबेला सिंगो मुलुक अत्यन्त जटिल अवस्थामा अगाडी बढेको छ । मुलुकको अर्थतन्त्र खस्ता छ । हिँजोका दिनमा संगालेर, कमाएर राखेको पैशाले यतिबेला घरको जोहो चलाउने, आफ्नो व्यापारव्यवसाय अगाडी बढाउने काम भैरहेको छ । राखिएका सञ्चितिहरु पनि अब सकिने अवस्थामा छ । तसर्थ अब पनि जनताले स्थायी सरकार बनाउनका लागि मत जाहेर गर्न सकेनन् भने अबको केही वर्षमा नै यात घरखर्च चलाउन विदेशिनु पर्ने हुन सक्छ, या त ऋण तिर्न नसकेर पलायन हुने, भाग्ने वा आत्महत्या गर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले आम मतदाता अनि सबै जनताले अब आउने निर्वाचनमा विवेकपूर्ण तरिकाले स्थायी सरकार बनाउन सक्ने दललाई मत जाहेर गर्नुपर्छ । एक मतको पनि यतिबेला धेरै नै महत्व छ ।

एकएक मिलेर नै करोड हुने हो । एक थुकि सुकि, सय थुकि नदी भने झैं सबैको साथ समर्थनबाट मात्र मुलुकले स्थायी सरकार पाउने भएकाले आफ्नो अमूल्य मत वर्षै पिच्छे सरकार परिवर्तन गर्ने समूहलाई दिएर खेर नफालौ । यतिबेलाको मत भनेको सरकार बनाउने मात्र नभएर मुलुकको अस्थिर अवस्थालाई सुधार्न सक्ने दल एवं नेताको खोजी गर्नका लागि हो । आउँदो मंसिर ४ गते संघ र प्रदेशको अनि समानुपातिक मत मुलुकको कुसल नेतृत्व, स्थायी तवरले गर्न सक्ने दल एवं उमेदवारका लागि प्रयोग गर्नुपर्छ । अहिलेको अवस्थामा नेकपा एमालेले नै मुलुकलाई सही तवरले नेतृत्व गर्न सक्छ ।

धन्यवाद!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?