२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

चुनाव आयो, नेता गाउँ आए

दाङ, भदौ ३० । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिएसँगै नेताहरु गाउँ फर्किन थालेका छन् । जिल्लामा हुने प्रशिक्षण कार्यक्रमदेखि जनतासँग भेटघाट कार्यक्रम गर्न नेताहरु गाउँ फर्किन थालेका हुन ।

दाङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृषणबहादुर महरा, एमाले महासचिव शंकर पोखरेलदेखि पूर्व मन्त्री काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी लगायत नेताहरु जिल्लामा जनता रिझाउन कार्यक्रममा देखिन थालिसकेका छन् । साथै स्वतन्त्र शक्तिका रुपमा उदायका नेताहरुले पनि जिल्ला केन्द्रीत कार्यक्रम गर्न थालिसकेका छन् ।

एमालेका महासचिव पाखेरेल भदौ २५ गते गृह जिल्ला दाङ आएर दुई दिन (२६ र २७) जिल्लाका विभिन्न प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभयो । पोखरेलले पेशागत महासंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पिडित जातीय मुक्ति समाज, अखिल नेपाल महिला संघलगायतको भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउनुभयो । उहाँ जिल्लामा दुई दिन कार्यक्रम गरेर अन्य जिल्लाको दौडमा रहनुभएको छ ।

पोखरेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि एकल रुपमा उम्मेदवार सिफारिस हुनुभएको छ। यस अघि २०७४ को निर्वाचनमा पोखरेल दाङ क्षेत्र नम्बर २ (क)बाट चुनाव जित्दै लुम्बिनी प्रदेशको ३ वर्षसम्म मुख्यमन्त्रीका रुपमा रहनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा उपाध्यक्ष महरा पनि चुनाव नजिकिएसँगै जन्मस्थान रोल्पादेखि गृह जिल्ला दाङमा व्यस्त हुनुभयो । उहाँ विशेषतः गाउँ कन्द्रीत कार्यक्रममा सहभागी हुनुभयो । दाङ माओवादीले ‘आफ्नै घर फकौँ’ अभियान चलाइरहेको छ । भदौ २५ गते देउखुरीमा भएको सोहि कार्यक्रममा महराले १ सय ३० जना बढीलाई माओवादीमा समाहित बताउनुभएको थियो ।

उहाँ दाङमा करिब आधा दर्जन कार्यक्रममा सहभागि भएको एक नेताले बताए । महरा दाङ आउनुअघि रोल्पामा भएको पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो। यहाँको कार्यक्रम सकेर उहाँ राजधानी काठमाडौंँ फकिनुभएको छ ।

२०७४ सालको निर्वाचनमा उहाँ दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । महारासँगै क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रले केन्द्रीय सदस्य रेखा शर्मा र निर्मल आचार्यको नाम यस पटक उम्मेदवारका लागि सिफारिस गरेको छ ।

नेकपा (एकिकृत समाजवादी)का पोलिटव्यूरो सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरी पनि निर्वाचन केन्द्रीत देखिनुहुन्छ। दाङ क्षेत्र नं. १ क्षेत्रबाट सांसद बनेका उहाँ निर्वाचन नजिकिएसँगै पटक–पटक दाङ–काठमाडौं गरिरहनुभएको छ । चिर्वाचनको मुखमा मन्त्री हुनुभएका चौधरी त प्रत्यक्ष मतादता भेटघाटमात्र हैन विभिन्न योजनाहरु सिलन्यास समेत गर्न भ्याउनुभएको छ ।

No description available.

उहाँले मन्त्री भएयता गृह जिल्लामा मात्रै एक दर्जन बढी योजनाहरुको सिलन्यास गर्न भ्याउनुभयो । साउन ३० गते उहाँले आफ्नो निर्वाचन क्षेत्र देउखुरीमा १२ अर्बको राप्ती करिडोर सिलन्यास गर्नुभयो । चौधरीले अघिल्लो निर्वाचनमा राप्ती करीडोर निर्माण गर्ने भनेर जनतासामु गरेको बाचा आफूले गरेको बताउनुभएको थियो ।

हुन पनि चुनाव नजिकिएसँगै हरेक दिनजसो जिल्लामा पार्टीका गतिविधिहरु हुन थालेका छन् । मुलधारको राजनीतिमा रहेका नेता समेत चुनावका मुखमा आफ्नो निर्वाचन क्षेत्र फर्कन थालेपछि जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । ‘जब जब चुनाव आउँछ, तबमात्र नेताहरु आफ्नो ठाउँमा फर्कन थाल्छन् । नेताहरु गाउँपसेपछि चुनाव लाग्यो भन्ने बुझिन्छ’ घोराहीका स्थानीय लोकराज पराजुली भन्नुहुन्छ्, ‘अरु बेला वास्ता नगर्ने तर चुनावको मुखमा गाउँ छिर्ने राजनीति प्रवृति राम्रो होइन ।’

बढ्यो चुनावी सरगर्मी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पनि जिल्लामा चुनावी गतिविधि तिब्र पार्नुभएको छ । केहीदिन अघिसम्म जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर राजधानी जानुभएको छ । गिरी दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको टिकटका लागि लविङमा हुनुहुन्छ । गिरीसँगै नेपाली काँग्रेसले ६ जना नेताहरूको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नाम सिफारिसमय परेको छ ।

नेकपा एसबाटै क्षेत्र नं ३ बाट स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी र केन्द्रीय सचिव भागवत विश्वासी समेत जिल्लामा विभिन्न चुनावी गतिविधि बढाउनुभएको छ। राज्यमन्त्री केसी केही समय अघि जिल्लाका कार्यक्रम सकेर राजधानी फर्कनुभएको छ । केसी र विश्वासी प्रतिनिधिसभाको प्रत्यक्षमा सिफारिस हुनुभएको छ ।

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई पनि जिल्लामा भ्याई नभ्याई छ । गएको शनिवार उहाँ जिल्लाका दुईवटा कार्यक्रममा सहभागी हुनुभयो । मन्त्री चौधरी क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभाको प्रत्यक्षमा सिफारिस हुनुभएको छ । काँग्रेसका प्रदेश उपसभापति राजु खनालसँगै जिल्लाबाट सिफारिस भएका कांग्रेसका नेताहरू जिल्लाका कार्यक्रमहरूमा व्यस्त हुनुहुन्छ ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू गंगा चौधरी, घनश्याम पाण्डेय, कोमल वली र अनुशासन आयोगका केन्द्रीय सदस्य रेवतीरमण शर्मा पनि जिल्लाका विभिन्न चुनावी कार्यक्रमहरूमा बढी भेटिनुहुन्छ । दाङ क्षेत्र नं. १ बाट शर्मा, क्षेत्र नम्बर ३ बाट पाण्डेय र वली प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि सिफारिस हुनुभएको छ । शर्मा प्रदेशसभा सदस्य हुनुहुन्छ । वली निवर्तमान राष्ट्रियसभा सदस्य हुनुहुन्छ भने पाण्डेय तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षका लागि एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीलाई पनि एमालेले सिफारिस गरेको छ । तर उहाँ भने चार महिना यता गृह जिल्ला नै फर्किनुभएको छैन । साउनको अन्तिममा एमाले दाङले गरेको जिल्ला स्तरीय प्रशिक्षणमा सहभागी भएर राजधानी जानुभएका उपाध्यक्ष ज्ञवाली त्यसपछि भने जिल्लामा आउनुभएको छैन ।

No description available.

यस्तै स्वतन्त्र राजनीतिक शक्ति नेपालले पनि दाङ जिल्लामा कार्यक्रम गरिसकेको छ । घोराहीमा शनिबार पार्टीका अध्यक्ष रमेश खरेलसहितका नेताहरु आएर आमसभासँगै उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भए । सभालाई सम्बोधन गर्दै खरेलले आउने निर्वाचन दानव र मानवबीचको लडाई रहेको बताउनुभएको थियो । अध्यक्ष खरेलले अन्य पार्टीलाई दानबको संज्ञा दिँदै आफूहरु भने मानव रहेको दाबी गर्नुभयो ।

स्वतन्त्र राजिनीतिक शक्तिबाट दाङ क्षेत्र नम्बर २ मा गीता रावत र २ (क)मा बेगम पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?