२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

एमाले रणनीतिः अन्य दलका नेता भित्र्याउने, विपक्षी गठबन्धन बनाएर सत्तामा पुग्ने

काठमाडौं, भदौ ३१। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिनुहुन्छ ।

विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क देखिनुहुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहितका साना दलबाट नेता विद्रोह गर्दै एमालेमा प्रवेश गरिरहेका छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको बताउनुभयो। जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहुँ पार्टी प्रवेश कार्यक्रम भइरहेको उहाँले जानकारी दिनुभयो ।

एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेता एमाले प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले ‘आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने’ ठोकुवा गर्नुभएको छ।

गत मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गर्नुभयो ।

‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भन्नुभयो। एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’समेत पार गर्न नसक्ने दाबी गर्दै उहाँले थप्नुभयो, ‘माधव नेपालको पार्टीले थ्रेस होल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसद्मा पुग्दैन । चुनावमा प्रचण्डको पार्टीले थ्रेस होल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ ।’

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार नेकपा माओवादी नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले त्यस्तै ठोकुवा गर्नुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका सह–इन्चार्ज रहेका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजित)सहितका नेता–कार्यकर्तालाई ओलीले अबिरमाला लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुनुहुन्छ । उहाँ एमालेमा प्रवेश गरेसँगै माओवादीका अध्यक्ष प्रचण्डलाई असर पर्ने विश्लेषण भइरहेको छ ।

एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमान्डर अञ्जन तिमल्सिना, चितवनकै कालिका नगरपालिका कमिटी उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गर्नुभएको छ ।

माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलबाट एमालेमा प्रवेश गर्ने नेता संख्या बढी रहेको थापाले बताउनुभयो। पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको उहाँको दाबी छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?