२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

आम निर्वाचन : माओवादीको साथ दिपक गिरीलाई कति फलिफाप ?

दाङ, असोज २८ ।दाङ निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका सदस्यका लागि १६ जना चुनावी मैदानमा छन् । जसमा ६ जना स्वतन्त्र र १० जना पार्टीबाट उम्मेदवार भएका छन् ।
क्षेत्र नम्बर– ३ मा प्रतिनिधिसभाका लागि १६ जना चुनावी मैदानमा भए पनि एमालेबाट उम्मेदवारी भएकी पार्टीकी केन्द्रीय सदस्य कोमल वली र गठबन्धनबाट उम्मेदवार भएका कांग्रेस पार्टीका केन्द्रीय सदस्य दिपक गिरीबीच तिब्र प्रतिष्पर्धा हुने देखिन्छ ।

अझ रोचक त के देखिन्छ भने २०७४ को निर्वाचनमा काँग्रेसको बलियो क्षेत्र मानिने ३ बाटै नराम्रोसँग हार बेहोरेका दिपक गिरीले जित्लान की हार्लान भन्ने छ । ०७४ को निर्वाचनमा माओवादी र एमालेबीच चुनावी तालमेल हुँदा दिपकले काँग्रेसको बलियो क्षेत्र मानिने ठाउँमा नै नराम्रोसँग हार बेहोर्नु परेको थियो ।

गिरीले माओवादीको साथ पाएका एमालेका हिराचन्द्र केसीसँग ६ हजार मतान्तरले हार बेहोर्नु भएको थियो । गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गर्दा केसीले ४० हजार २ सय ८७ मत प्राप्त गरि निर्वाचित हुनुभएको थियो ।

०७४ को निर्वाचनमा एमालेसँग हार बेहोरेका गिरी अहिले भने माओवादीको साथ लिएर चुनावी मैदानमा हुनुहुन्छ ।०७४ मा एमालेलाई माओवादीको मात्र साथ थियो ।
तर अहिले गिरीलाई माओवादी, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत ५ दलको साथ रहेको छ । जसले गर्दा गिरीलाई मंसिर ४ फलिफाप हुन देखिन्छ । क्षेत्र नम्बर–३ यसै पनि कांग्रेस बलियो मानिने क्षेत्र हो र अन्य दलको पनि साथ हुँदा गिरीलाई निर्वाचन जित्न सहज हुने कांग्रेस नेताहरु बताउँछन् ।

यता एमालेबाट उम्मेदवार भएकी कोमल वली पनि कमजोर भने देखिनुहुदैन् । पहिले क्षेत्र नम्बर–३ कांग्रेसको बलियो क्षेत्रका रुपमा हेरिए पनि पछिल्लो समय कमजोर भने देखिदै गएको छ । एमालेको प्रभाव यस क्षेत्रमा राम्रै देखिन्छ ।

पाँच दलिय गठबन्धन हुँदासमेत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा एमालेले सहज जित निकालेको थियो । यसैगरी दंगीशरण र बबई गाउँपालिकामा पनि आफ्नो प्रभाव राम्रो रहेको दाबी गर्दै एमाले पनि चुनाव जित्नेमा ढुक्क देखिन्छ । अघिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा बबई र दंगीरणमा एमाले एक्लैले जितेको पनि थियो ।

तर अहिले यी पालिका एमालेले गुमाएको भए पनि आफ्नो जनमत कायमै रहेको भन्दै वलीले मंसिर ४ को प्रतिनिधिसभा निर्वाचन जित्ने कुरामा कुनै शंका नरहेको एमालेका एक जिल्ला नेताले बताए ।

यस्तै वली कलाकारिता क्षेत्र हुँदै सञ्चारकर्मीका रुपमा काम गरिसकेको र पपुलर उम्मेदवार भएकाले पनि उहाँलाई चुनाव जित्नमा केही सहज देखिन्छ । अर्को तर्फ कांग्रेसभित्रको गटबन्दिको फाइदा वलीलाई हुने सक्ने राजनीतिकि विश्लेषकहरु बताउँछन् ।

क्षेत्र नम्बर– ३ मा दुई भाई दिपक गिरी र गेहेन्द्र गिरीबीच सधैं प्रतिपर्धा रहँदै आएको छ । गठबन्धन हुँदासमेत गएको बैशाखमा भएका स्थानीय तहको निर्वाचनमा गेहेन्द्र गिरीले तुलसीपुरको मेयरमा हार बेहार्नुभएको थियो । हार बेहोर्नुका पछाडि दिपक पक्षको हात रहेको गेहेन्द्र पक्षले आरोप लगाउँदै आएको छ ।

फेरि पनि मंसिर ४ को निर्वाचनमा यी दुईबीचमा अन्तरघात हुन सक्ने कतिपयको आँकलन छ । यदि त्यसो भएमा एमालेबाट उम्मेदवार भएकी वलीलाई निर्वाचन जित्नमा सहज हुने देखिने राजनीतिक वृत्तमा चर्चा हुने गर्छ ।

यस्तो छ अंक गणित

निर्वाचन क्षेत्र नम्बर–३ मा ४ वाटा स्थानीय तहहरु रहेका छन् । जससमध्ये गएको बैशाखमा भएको स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका बाहेक अन्यमा काँग्रेसले एकल जित निकालेको थियो ।

पाँच दलिय गठबन्धन हुँदासमेत तुलसीपुरमा हार बेहोरेको कांग्रेसले बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकामा प्रमुख, उपप्रमुख दुबैमा एकल जित निकालेको थियो । बबई गाउँपालिकामा कांग्रेसले जितेको भए पनि कार्यपालिकामा एमालेको बहुमत रहेको छ । यस पालिकामा एमालेले ३ वडा जित्दै बहुमत कायम गरेको हो ।

यद्यपीबबई गाउँपालिकामा एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा एकल जित निकालेको थियो । यस पटक पार्टीभित्रको अन्तरघातका कारण यहाँ आफ्नो पार्टीको प्रभाव राम्रो हुँदा पनि हार बेहोर्नु परेको एमाले नेताहरु बताउँछन् ।

यस्तै शान्तिनगरमा एमाले कमजोर पालिकाका रूपमा हेरिन्छ । यहाँ कांग्रेसको राम्रै प्रभाव भएको क्षेत्र हो । स्थानीय तहको निर्वाचनमा कांग्रेसले यहाँ एकल जित निकाले छ । शान्तिनगरमा एमालेले मात्र २ वटा वडामा जितेको छ । शान्तिनगरमा एक वटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

यस्तै दंगीशरण गाउँपालिकामा पनि कांग्रेसले नै जितेको छ । यसमा एमालेले ९ वटामा ४ वटा वडामा जितेको छ । अन्य वडाहरु गठबन्धकै दलहरुले जितेका छन् । अघिल्लो ०७४को निर्वाचनमा यस पालिकामा एमालेले जितेको थियो । यहाँ पनि पार्टी अन्तरघात भएकाले गएको बैंशाखको स्थानीय तहको निर्वाचनमा हार बेहार्नु परेको एमाले नेताहरुले बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकामा क्षेत्र नम्बर–३ अन्तरगत पर्ने १५ वटा वडाहरूमध्ये एमालेले ८ वटा र गठबन्धनले ७ वटा जितेका छन् । एमालेका नेताहरू तुलसीपुर जितेको र बबई, दंगीशरणमा आफ्नो प्रभाव रहेको आँकलसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जित्नेमा दाबी गर्छन्।

यसरी स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने गठबन्धन र एमालेकाबीचमा प्रतिस्पर्धा देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?