२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

आमनिर्वाचन : उच्च असन्तुष्टि, न्यून मतदान

काठमाडौँ, मंसिर ५ । संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छ । निर्वाचन आयोगले आइतबार साँझ दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।

आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका छन् । ०४८ सालपछि भएका संसदीय निर्वाचन (संविधानसभासमेत) मध्ये पनि सबैभन्दा कम हो । ०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत र ०६४ को संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मतदान भएको थियो ।

अहिले भएको मतदान ७ महिनाअघि भएको स्थानीय निर्वाचनभन्दा पनि झन्डै ९ प्रतिशत कम हो । स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा ७०।९६ प्रतिशत अर्थात् एक करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो ।

यसपटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेसमा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारीअनुसार वाग्मतीमा ६१.५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३, सुदूरपश्चिममा ५९.७७ प्रतिशत मतदान भएको छ । हिमाली जिल्लाको विवरण अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझ ८ बजेको पत्रकार सम्मेलनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिए पनि आयोगको प्रणालीमा ५९.७५ प्रतिशत मात्रै मतदान भएको विवरण थियो । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको हो,’ थपलियाले भने, ‘यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’

आयोगको प्रारम्भिक विवरणअनुसार काठमाडौंमा ५५ प्रतिशतले मात्रै मतदान गरेका छन् । ललितपुरमा ६५ र भक्तपुरमा ७० प्रतिशत मत खसेको छ । चितवनमा ६०, सप्तरीमा ६१, सिरहामा ६२, धनुषामा ६५, महोत्तरीमा ६६, सर्लाहीमा ६१, रौतहटमा ६५, बारामा ६६।८६, पर्सामा ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण छ ।

प्रदेश १ को इलाममा ५७.५, झापामा ६१, मोरङमा ६५ प्रतिशत मतदान भएको छ । लुम्बिनीमा सबैभन्दा बढी पश्चिम नवलपरासीमा ७२ प्रतिशत मतदान भएको छ । रोल्पामा सबैभन्दा कम ४० प्रतिशत मात्रै मतदान भएको विवरण प्राप्त भएको आयोगले जनाएको छ । रूपन्देहीमा ६८, कपिलवस्तुमा ६५, दाङमा ६१, बाँकेमा ६४.७ प्रतिशत मतदान भएको छ । गुल्मीमा ५४ प्रतिशत मात्रै मत खसेको छ । गण्डकीमा सबैभन्दा बढी मनाङमा ७१ प्रतिशत, नवलपरासी पूर्वमा ६६.५, मुस्ताङमा ६६, स्याङ्जा र पर्वतमा ६०–६० प्रतिशत मत खसेको छ । गोरखामा ४६ प्रतिशत मात्रै मत खसेको छ । यो गण्डकी प्रदेशकै सबैभन्दा कम हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आमनिर्वाचनमा मतदाताको सहभागिता घट्नु चिन्ताको विषय भएको बताए । ‘हामीले धेरै मतदानस्थलको अनुगमन गर्‍यौं । मतदान केन्द्रमा विगतको जस्तो लाइन पनि थिएन । मत हाल्न आएका मतदातामा उत्साह देखिएन,’ उनले भने, ‘दल र उम्मेदवारलाई मन नपराएकै कारण मतदातामा उत्साह नभएको पायौं ।’ विगतमा उम्मेदवारहरूले मतदातालाई उत्साहित बनाएर मतदान केन्द्रमा लैजाने गरेको तर यसपालि त्यस्तो नदेखिएको यादवले बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनमा भन्दा कम मतदाता सहभागी हुनु स्वाभाविक भए पनि ०४८ यताकै संसदीय निर्वाचनमा कम हुनु दुर्भाग्य भएको बताए । ‘लोकतान्त्रिक बहुदलीय व्यवस्थाको विरोधमा कम भोट खसेको होइन । असुरक्षाका कारण पनि होइन,’ उनले भने, ‘दलका उम्मेदवारप्रति सशंकित भएर, पाहुना उम्मेदवार भएर, स्थानीय तहमा जस्तो चिनजानको उम्मेदवार नभएर, राजनीतिप्रति वितृष्णा भएर र आफ्नै पार्टीको उम्मेदवार नभएर कम भोट खसेको हो ।’

पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ मतदानमा सहभागिता कमी हुनुलाई लोकतान्त्रिक व्यवस्थाप्रति निराशाको संकेतका रूपमा बुझ्न सकिने बताउँछन् । आफूले मतदान गरेको गोरखा, बारपाकको वडामा ५१ प्रतिशत मात्रै मत खसेको उनले बताए । ‘भोट हाले पनि के हुन्छ भन्ने निराशा जनतामा छ,’ गुरुङले भने, ‘गठबन्धनकै कारण पनि मतदान कम भएको हुन सक्छ । यहाँ पहिले कांग्रेस र माओवादीको प्रतिस्पर्धा हुन्थ्यो । उम्मेदवारहरू घर–घर डुल्थे । मतदातालाई सक्रिय बनाउँथे । यसपालि त्यो भएन ।’

प्राध्यापक पीताम्बर शर्माले दलहरूप्रति वितृष्णा भएकै कारण मतदाता निर्वाचनमा कम सहभागी भएको टिप्पणी गरे । ‘विगतमा मतदानस्थलबाहिर चासो गर्ने समूह उत्तिकै हुन्थे । यसपालि त्यस्तो पनि देखिएन,’ उनले भने, ‘मतदातालाई दलहरूप्रति आशा नभएको परिणाम अहिले देखिएको हो । यो देश र लोकतन्त्रका लागि राम्रो लक्षण होइन ।’

राजनीतिकशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले पनि मतदाता दलहरूप्रति उत्साहित नदेखिनु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?