२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

प्रचण्डलाई ओलीको फोन : मिलेर अघि बढौं

काठमाडौं, मंसिर ८। एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ। बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गर्नुभएको हो ।

‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’

प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गर्नुभएको अनलाइन खबरले लेखेको छ । प्रचण्डले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै उहाँको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गर्नुभएको छ। ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यले बताउनुभयो ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि दुई पार्टीका अध्यक्षहरुबीच सौहार्द्ध टेलिफोन वार्ता भएको पुष्टि गर्नुभएको छ । ‘ओलीले फोन गर्नुभयो, मिलेर केही गरौं भन्ने कुरा भएको छ, तर के गर्ने भन्ने स्पष्ट छैन,’ उहाँले भन्नुभयो, ‘एमालेका अरु पनि शीर्ष नेताले अध्यक्षलाई फोन गरिराख्नुभएको छ ।’

अनलाइन खबरबाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?