२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

अन्तिम फैसला

समयको सिलिङ्गमा
घडीका काँटाहरु
आत्महत्या गरिरहेको यो कुरुप समय ।
 
ओ मेरी प्रेमिका
तिमी र म हिडौं
यो परिस्थितिलाई हान्दै विचारको थप्पड
कसै गरी कसैले हाम्रो बिरुद्ध यो प्रेमिल इजलासमा
दर्ता गरायो भने उजुरी
हावाको बग्गी चढेर जाउँला तिमी र म ।
 
मान्छेहरु मृत तर अक्षरहरु जीवित रहेको कानुनसम्म
जुन बखत साबित होस्
तिम्रो र मेरो अपराध
अपराधी यो मानेमा बनियोस् कि
संसारका आँखाहरुले देख्ने गरी
मैले तिमीलाई हेरेको कारण
संसारका कानहरुले सुन्नेगरी
मैले तिमीलाई बोलेको कारण
संसारका ईन्द्रीयलाई बिझाउने गरी
मैले तिमीलाई छोएको कारण
संसारलाई डिप्रेसन हुने गरी
मैले तिमीलाई सम्झिएको कारण
कठघरामा उभिएर यो भन्न मन छ
श्रीमान !
अपराधी हुन चाहन्छु
यी तमाम अभियोगमा
त्यति नै बेला टक्र्याउनु तिमीले
यो दुनियाको बिरुद्ध प्रेमका सबुतहरु
त्यसपछी सफाई दिनेछ यो सम्मानित अदातल हामीलाई
तत्पश्चात हातमा प्रेमको मसाल जलाएर दौडिँदै जाउँला ।
 
श्रीमान !
जब तपाईहरु हामीलाई खोज्दै भौतारिनु हुनेछ
आउनु होला बौद्धिकताको पैदल रिक्सा तान्दै हामीसम्म
हामीहरु राता गुलाब हरु फुलाईरहेका हुनेछौं
प्रेमको बगैँचामा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?