२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

वैदेशिक रोजगारीले निम्त्याएकोे क्रुरता : नरहे बाँस, नबजे बाँसुरी

दाङ, मंसिर २१ । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ ताक्मामा मंगलबार दिउँसै क्रुरर घटना घट्यो । ३८ वर्षीय अम्मरबहादुर आलेमगरले आफ्नै ३० वर्षीया श्रीमति मिना आलेमगरको क्रुररतापूर्ण हत्या गरे । दिउँसो ३ बजेतिर हँसियाले श्रीमतिको टाउको छिनाएर प्लाष्टिकको झोलामा राखी उनी घरबाट रक्ताम्ये निस्किए ।

घरबाट निस्किएका अम्मरबहादुरलाई उनकै आमासहित भाउजु नाता पर्नेले देखे । भाउजु नाता पर्नेले कता जान निस्किएको सोधेपछि उनले प्लाष्टिकमा राखिएको टाउको देखाए । जुन दृष्य देखेर अम्मरबहादुरकी आमा बेहोस नै भइन । अम्मरबहादुर भने रक्ताम्ये गाउँतिर निष्किए ।

उनको गतिविधि शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । लगत्तै ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले उनलाई बाटोबाटै पक्राउ ग¥यो । अम्मबरबहादुर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छन् ।

मृतक मिनाको शव भने जिल्ला अस्पताल सुर्खेतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

वैदेशिक रोजगारीले निम्त्यायो क्रुरर घटना
अम्मरबहादुर आलेमगर करिब एक दशक बैदेशीक रोजगारीमा बसेका हुन । उनी ५ वर्ष दुबैमा र ४० महिना मलेसियामा बसे । मलेसियाबाट घर फर्किएर उनी ५÷६ महिना भारतमा रोजगारी गरेर गएको बैशाखमा घर फर्किएका थिए ।

त्यसपछि उनीहरु सँगै भएको बताइएको छ । अम्मरबहादुरले श्रीमतिसँग आफ्नो कमाइको हिसाब किताब माग्दा नमिलेपछि क्रुरर घटना निम्तिएको प्रहरीको भनाई छ । उनले विदेशमा रोजगार गरेर कमाएको पैसा घरमा पठाएको र उक्त पैसाको हिसाब श्रीमतिले नदिएपछि हत्या गरेको बयान दिएका छन् ।

‘अभियुक्तले आफू ९ वर्ष विदेशमा बस्दा कमाएको पैसाको हिसाब मागेको र हिसाब बुझाउन नसक्दा झगडा भएपछि हत्या भएको बताउँछ ।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कार्कीले भने । साथै अम्मरबहादुरले श्रीमतिलाई परपुरुषसँग लागेको समेत प्रहरी समक्ष बयान दिएका छन् । ‘पैसाको विषय, मोबाइलमा आउने फोनको विषयमा झगडा भएको देखिन्छ,’ कार्कीले भने, ‘घटनाका विषयमा अनुसन्धान गर्न बाँकी नै छ ।’

हत्या अभियुक्त अम्मरबहादुर घरका काँइला छोरा हुन । उनका दुई जना छोराछोरी छन् । उनको ११ वर्षको छोरा र ८ वर्षीया छोरी रहेको पञ्चपुरी नगरपालिका–३ का वडाध्यक्ष बलबहादुर रोकायले बताए ।

‘यस्तो घटना कसरी कट्न पुग्यो हामी पनि अचम्मित छौँ,’ उनले भने, ‘बाहिर पैसाका कारोबार नमिलेकाले श्रीमतिको हत्या गरेको भन्ने आएको छ ।’ वडाध्यक्ष रोकायले घरपरिवारलाई उदृत गर्दै श्रीमान श्रीमतिबीचमा धेरै झगडा हुने गरेको पनि थाहा नभएको बताए ।

“वैदेशीक रोजगारमा गएकाहरुलाई पेन्सन व्यवस्था गर्नुपर्छ” 
समाजशास्त्री माधव गौतम धन, सम्पत्ति, मायाँ, प्रेसमा मानिस आवेशमा आउने, उत्तेजित हुने स्वभाविक स्वभाव रहेको बताउँछन् । ‘मानिस धन, सम्पत्ति, मायाँ, प्रेममा आफूले भनेको जस्तो भएन भने आवेशमा आउने, मार्ने, मर्ने गर्छन,’ उनले भने, यो मानिसको स्वभाव हो र यहि स्वभाव अन्तरगत नै सुर्खेतको घटना घटेको हो ।’

विदेशमा दुःख गरेर कमाएको पैसा नहुँदा कसैलाई रिस उठ्नु स्वभाविक रहेको उनको तर्क छ । जुन स्वभावले ‘नरहे बाँस, नबजे बाँसुरी’ भन्ने गरी मानिस जे पनि गर्न तयार हुने उनी बताउँछन् । यस्तो स्वभाव विशेष गरेर पश्चिमा संस्कृतिको नेपालमा पारेको असरका रुपमा उनी बुझ्छन् ।

अझै पनि यस्तो घटना बढ्दै जाने समाजशास्त्री गौतमको तर्क छ । उनले यस्ता घटना घटाउन पश्चिमा संस्कृतिको प्रभाव रोक्नु पर्ने, नेपालमा रोजगार सृजना गर्नु पर्ने बताउँछन् । साथै विदेशबाट फर्किएकाहरुलाई वा घरमा वैदेशीक आयश्रोत उपभोग गरिरहेकाहरुलाई सचेतना जगाउनु पर्ने गौतमले बताए ।

विशेष गरेर वैदेशिक रोजगारमा गएकाहरुको पेन्सनको व्यवस्था गर्न सके आवेशमा आउने घटनामा कमि हुने उनी बताउँछन् । ‘सरकारले हस्तक्षेप गरेर भए पनि कसले कति पैसा पठाउँछ, त्यसैअनुसार अब वैदेशीक रोजगारमा गएकाहरुको पनि पेन्सनको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यसले घरमा फर्कदा कत्ति पनि पैसा छैन भन्ने हुने छैन र यस्ता घटनामा कमि ल्याउन सहयोग गर्नेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?