२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

नवौं राष्ट्रिय खेलकुद : छनौट खेलमा दाङ महिला क्रिकेट टिमको उत्कृष्ट प्रदर्शन

दाङ, असार १५ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेलमा दाङ महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको छ । रुपन्देहीमा भइरहेको छनौट खेलमा लुम्बिनी प्रदेशका सबै जिल्लालाई हराउँदै दाङ महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको हो ।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाका अनुसार दाङ महिल क्रिकेट टिमले रुपन्देही, नवलपरासी पश्चिम र बाँकेको महिला क्रिकेट टिमलाई हराएको छ । नवलपरासी पश्चिमलाई १२३ र बाँकेलाई ८५ रनले हराउँदा रुपन्देहीलाई ५ विकेटले हराउन सफल भएको अध्यक्ष मजगैयाले बताउनुभयो ।

लुम्बिनीबाट नवौं राष्ट्रिय खेलकुदका लागि ४ जिल्लाका मात्र महिला क्रिकेट टिम छनौट खेलमा सहभागी भएका छन् । यी ४ टिमबाट उत्कृष्ट १४ खेलाडी छनौट गरी गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी पठाइने छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भने असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म हुने छ ।

राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको खेलतालिका अनुसार पोखरा रंगशालको क्रिकेट मैदानमा हुने महिला क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम गरी कूल ९ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ए मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।

खेलतालिकाअनुसार असोज २३ गते हुने उद्घाटन खेलमा समूह ए मा रहेका गण्डकी र मधेश प्रदेशबीच हुनेछ । यस्तै सोही दिन सुदूरपश्चम र बागमती प्रदेशबीच पनि खेल हुनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल असोज ३१ गते हुनेछ । फाइनल खेल र तेस्रो स्थानका लागि खेल कात्तिक १ गते हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?