१६ मंसिर २०८१, आइतबार
1 December , 2024,Sunday

कृषि जग्गामा पुरुषको स्वामित्व धेरै, पाएनन् महिलाले जग्गाको स्वामित्व

दाङ, मंसिर १७ । कृषिमा महिलाको सहभागीता बढी रहे पनि कृषि जग्गामा पुरुषको स्वामित्व धेरै रहेको पाइएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका एक करोड ३२ लाख ११ हजार ३४९ जना कृषि क्षेत्रमा आबद्ध छन् ।

यसमा महिलाको संख्या ६८ लाख ६३ हजार ४१२ र पुरुषको संख्या ६३ लाख ४७ हजार ९३६ रहेको छ । कृषि क्षेत्रमा महिलाको सहभागीता ५२ प्रतिशत भए पनि कृषि जग्गामा स्वामित्व तथा हक सुरक्षण भने ३४ दशमलव चार प्रतिशत मात्रै रहेको तथ्याङ्कले देखाएको हो । त्यसमध्ये पुरुषको स्वामित्व ६५ दशमलव छ प्रतिशत रहेको छ ।

कृषि गणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले किसान परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२ दशमलव ९ प्रतिशतको कृषि जग्गामा स्वामित्व छ भने वयस्क महिलाको हकमा यो प्रतिशत २० दशमलव आठ प्रतिशत मात्र रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?