कस्तो रहला नेपालका लागि मोदीको तेस्रो कार्यकाल ?
टीकाबहादुर बस्नेत/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिनुभएको छ । नेपालसहित पाँच छिमेकी देशका प्रतिनिधिलाई आमन्त्रण गरी मोदीले शपथ लिनुभएको हो । शपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई आमन्त्रण गरी मोदीले आफ्नो तेस्रो कार्यकालमा छिमेकीसँगको साथ सहयोगको अपेक्षा गरेको देखिन्छ । मोदीको भारतीय जनता पार्टी (भाजपा) ले विगत एक दशकसम्म पूर्णरूपमा शासन ग¥यो । तर यसपटक भाजपालाई १५–सदस्यीय राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सँग सहकार्य गर्नुपर्ने परिस्थितिको सिर्जना भएको छ ।
लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुन्छ । चुनावअघिको प्रक्षेपण र सर्वेक्षणअनुसार भाजपाले परिमाण ल्याउन सकेन । यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धनले सरकार गठन गर्न आवश्यक संख्या २७२ भन्दा बढी सिट जितेको छ । मोदीको भारतीय जनता पार्टीले भने आवश्यक २७२ संख्याभन्दा ३२ सिट कम अर्थात् २४० सिट जितेको छ । त्यसैले मोदीको नेतृत्वमा सरकार गठन हुनका लागि गठबन्धनका दलहरूको सहयोग अब अनिवार्य भएको छ । गुजरातको सफल कार्यकालपछि केन्द्रीय राजनीतिमा उदायका मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूपश्चात् यो अवसर मोदीलाई आएको छ । यद्यपि मोदी प्रधानमन्त्री बने पनि आफ्नो तेस्रो कार्यकालमा कठोर राजनीतिक निर्णय लिन पाउने अवस्था सिर्जना हुने छैन । मोदीको सफलताका लागि राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सँगै हुनुपर्नेछ । आर्थिक सुधारका पक्षधर चन्द्रबाबु नायडुको दरिलो समर्थनका कारण प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल आर्थिक सुधारका प्रयासले निरन्तरता पाउने निश्चित छ । तीन पटक गुजरातका मुख्यमन्त्री र एक दशकसम्म भारतको प्रधानमन्त्री बनेका मोदीले आफ्ना गठबन्धनका सहयोगीसित समन्वय गरी कार्यकाल पूरा गर्ने अनुमान मात्र यतिखेर गर्न सकिन्छ ।
नेपालको राजनीतिमा भू–राजनीतिक प्रभाव पर्दै आएको घामजत्तिकै छर्लङ्ग नै छ । मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा विजयी भएसँगै नेपाली राजनीतिक वृत्तमा भारतको सम्भावित नेपाल नीतिका बारेमा चासो देखिन सुरु भएको छ । जो स्वभाविकै छ । विगत १० वर्षदेखि मोदी नेतृत्वमा नै भारतको सरकार सञ्चालित हुँदै आएकाले नेपाली राजनीतिमा कुनै ठूलो फरक नपर्ने प्रायः पक्का नै छ । विगतकै नीतिले निरन्तरता पाउने हुँदा नेपालका लागि मोदी कार्यकाल फलदायी नै हुने देखिन्छ । विगतको अभ्यासलाई हेर्ने हो भने भारतको छिमेक नीति विदेश मन्त्रालयको कर्मचारीतन्त्र, खुफिया एजेन्सी ‘रअ’, भारतीय इन्टेलिजेन्स व्युरोसँग समन्वय तयार हुने भएकाले अब बन्ने मोदी नेतृत्वको सरकारले नेपाल नीतिमा मौलिक रुपमा कुनै फरक पर्ने छैन । जो नेपालका लागि सुखद् पक्ष हो । तर, भारतको स्थायी स्वार्थ पुरा गर्नका लागि नेपाल प्रयोग हुनुहुँदैन । यसका लागि नेपाल सरकार सजग हुनु आवश्यक छ । राष्ट्रियता र स्वाधीनताका सन्दर्भमा भारत सरकारबाट जुनसुकै बेला पनि नेपाल प्रतिकूल नीति अख्तियारी गरिने सम्भावना पनि उत्तिकै जीवित रहेकाले यसतर्फ सजग रहनु नै नेपालका लागि हितकार हुन्छ । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?