सिचाइको दीर्घकालिन समस्या खोज्नुपर्छ
मनसुन भित्रिए पनि पानी नपर्दा पश्चिम तराईका किसानहरु मर्कामा परेका छन् । पानी नपर्दा किसानहरुले मकै छर्न पाएका छैनन् भने मकै छरिएको क्षेत्रमा मकै सुकेर मर्न लागिसकेका छन् । असारको पहिलो साता आइपुग्दासमेत पानी नपर्दा ब्याड राख्न नपाउँदा किसानहरु चिन्तित बनेका छन् । मानो रोपी मुरी फलाउने सपना देख्ने किसानहरु पानी नपर्दा दुखित बन्दै गएको छन् । पूर्वमा बाढी पहिरोले बितण्डा मच्चाउँदा आफ्नोतिर पानी नपर्दा किसानहरु हरेक दिन थप निरास बन्दै गइरहेका छन् । समयमै पानी नपर्दा चैते धानबाली लगाएका किसानहरु पनि मर्कामा परेका छन । पानी नपर्दा गर्मीका कारण जनजीवन समेत कष्टकर बनेको छ ।
किसानको मुख्य धन भनेकै माटो र पानी हो । माटो भएका किसानहरु पानी नपाउँदा उनीहरुको दैनिकी तनावग्रस्त मात्र बनेको छैन–पानी पार्नका लागि विभिन्न गतिविधि गर्नमा तल्लिन छन् । पानी पार्नका लागि दाङको शान्तिनगरका किसानहरुले खोलाको मुहानमा गएर बिचारी ढुंगाको पूजाआजा गरेका छन् । लामो समयसम्म खडेरी भएपछि विगतका वर्षहरु झैं किसानहरुले यसवर्ष पनि बौलाह खोलास्थित विचारी ढुंगाको पूजा गरेका छन् । बिचारी ढुंगाको पूजा गर्दा पानी पर्ने विश्वास गरेका किसानहरुले पानी पर्ने आशा संगालेका छन् । सोच्दा सामान्य लागे पनि यसमा किसानहरुको पीडा कतिसम्म छ भन्ने झल्किन्छ । नीति निर्माण तहमा रहेका जनप्रतिनिधिहरुलाई किसानको यस गतिविधिले जिम्मेवार बनाउनुपर्ने हो । सिचाइको दीर्घकालिन समाधान खोज्ने सोचाइ पैदा हुनुपर्ने हो । तर, यसो हुन सकेको देखिदैन । किसान, मजदुरको पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका तीनवटै तहका जनप्रतिनिधिहरुले किसानका पीर मर्का बुझ्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।
नेपाल कृषिप्रधान देश हो । यहाँको आर्थिक बृद्धि र समृद्धिको माध्यम भनेकै कृषि हो । राज्यले कृषि क्षेत्रको विकासका लागि सिचाइको प्रबन्ध मिलाउनुपर्दछ । खहरे खोलामा ड्याम बनाएर सुख्खा समयमा सिचाइको प्रबन्ध मिलाउनु पर्दछ । सतहमुनिको पानीको संरक्षणका लागि योजना बनाउनुपर्दछ । आकाशे पानीको भरमा कृषि कार्य गर्ने किसानहरुको नियति बदल्नु पर्दछ । प्रयाप्त कृषिको सम्झावना बोकेको दाङ उपत्यकाको सिचाइका लागि सारदा र माडीको पानीको सदुपयोग गर्ने दीर्घकालिन योजना अगाडि बढाउनुपर्दछ । यसतर्फ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा, प्रदेश सभाका सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको सामुहिक प्रयासबाट जिल्लाको सिचाइका लागि दीर्घकालिन योजना सञ्चालन गर्नु नै आजको आवश्यकता हो ।