मुलुकको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण–मन्त्री पन्थी

दाङ, साउन १९ । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले मुलुकको आर्थिक विकासका लागि सहकारी संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना दिवसको अवसरमा घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्थीले भन्नुभयो, ‘मुलुकको आर्थिक विकासका लागि सहकारी संस्थाले खेलेको भूमिकाको चर्चा जति गरे पनि कमी नै हुन्छ । सहकारी संस्थाको विकासका लागि राज्यले भूमिका बढाउनुपर्दछ ।’
सानो पूँजी संकलन गर्दै स्वरोजगार सिर्जनामा सहकारीले खेलेको भूमिकाको चर्चा गर्दै मन्त्री पन्थीले सहकारीमा भित्रिएका विकृतिका कारण सहकारीको भविष्य अन्धकार बन्दै गइरहेको बताउनुभयो । सहकारीको समस्या मुलुककै समस्या भएकाले सहकारी सुधारका लागि स्वयं सहकारी संस्थाहरु लागिपर्नुपर्ने मन्त्री पन्थीको भनाइ थियो ।
‘छरिएर रहेको सानो सानो पूँजी संकलन गर्दै स्थानीय स्तरमै स्वरोजगार सिर्जनामा सहकारी संस्थाले खेलेको भूमिका महत्वपूर्ण छ । पछिल्ला केही वर्षयता सहकारीमा भित्रिएको विकृतिका कारण सहकारीको भविष्य अन्धकारमय बन्दै गएको छ’, मन्त्री पन्थीले भन्नुभयो, ‘सहकारीका सवल र दुर्वल पक्ष पहिल्याएर अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’ संविधानले दिएको अधिकार प्रयोग गरेर प्रदेशभित्रका सहकारीको विकासका लागि प्रदेश सरकार लागिपर्ने बताउँदै मन्त्री पन्थीले रचनात्मक सहयोगका लागि सहकारी संस्थाहरुलाई आह्वान गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै मन्त्री पन्थीले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन निर्माण भएको दावी गर्नुभयो । मुलुकको समस्या समाधानका लागि प्रमुख राजनीतिकहरु शक्ति मिल्नुपर्ने आवश्यकता महसुस गरी कांग्रेस एमाले गठबन्धन निर्माण भएको मन्त्री पन्थीको भनाइ थियो । नेपालजस्तो आर्थिक रुपमा कमजोर मुलुकमा अस्थिरता सिर्जना गर्न शक्ति राष्ट्रहरु लागिपर्ने भन्दै उहाँले ती सबै प्रयास असफल बनाउन राजनीतिक नेतृत्वलाई सफल बनाउनुपर्ने बताउनुभयो ।