कंगनाले जितिन् चुनाव, अब अभिनय छाड्ने
दाङ, जेठ २३ । बलिउड अभिनेत्री कंगना रनावतले लोकसभा चुनाव जितेकी छन् । भारतीय जनता पार्टी (बीजेपी)बाट हिमाचलको मण्डी निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकी उनले ७० हजारभन्दा बढी मतान्तरका साथ लोकसभाको सिट जितेकी हुन् । कंगनाको चुनावी प्रतिस्पर्धा कांग्रेस नेता तथा पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा विक्रमादित्यसँग भएको थियो । चुनाव जितेपछि उनी खुसी देखिएकी छन् ।
सांसद् भएपछि उनले इन्टाग्राममा लेखेकी छन्, ‘मण्डीबासीको यो जनाधार, प्रेम र विश्वासका लागि आभारी छु । यो जीत तपाईंहरु सबैको हो र यो जीत हो प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथिको विश्वासको, यो जीत हो सनातनको र यो मण्डीको सम्मानको जीत हो ।’ उनले आफ्नो प्रतिद्वन्द्वी विक्रमादित्य सिंहप्रति पनि कटाक्ष गर्दै ‘अब झोला प्याक गरेर घर जान’ भनेकी छन् ।
घरदैलो अभियानको क्रममा कंगनाले एक अन्तर्वार्तामा चुनावमा जीत हासिल गरेको अवस्थामा अभिनयबाट सन्यास लिने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म एउटा मात्र काम गर्न चाहन्छु । मण्डीबाट जितेँ भने राजनीति मात्र गर्छु ।’ पछिल्लो केही वर्षयता उनका एकपछि अर्को फिल्म असफल भइरहेका थिए । लोकसभा चुनावमा जीत हासिल गरेपछि अब उनको बाटो मोडिएको छ ।
कंगनाले अभिनय गरेको नयाँ फिल्म ‘इमरजेन्सी’ प्रदर्शनको पखाईमा छ । यसमा उनले कांग्रेस पार्टीबाट प्रधानमन्त्री बनेकी स्वर्गीय इन्दिरा गान्धीको भूमिका निभाएकी छन् । १८ वर्ष लामो करिअरमा उनले दुई दर्जन बढी फिल्ममा काम गरिसकेकी छन् । ‘क्वीन, ‘कृष ३’, ‘तुन वेड्स मनु’ र ‘क्वीन’ उनका सफल फिल्ममा पर्छन् । आफ्ना अभिव्यक्तिका कारण उनी विवादमा परिरहेकी हुन्छिन् ।