नीति शाहको डेब्यु फिल्म फ्लप
दाङ/लामो अन्योलतापछि फिल्म ‘खजुरे ब्रो’बाट नीति शाहको डेब्यु भयो । तर, यो उनको पहिलो रोजाई थिएन । त्यसअघि उनले ‘स्टार’ नायकसँगका चारवटा फिल्म सम्झौता गरेकी थिइन् ।
ती कुनै पनि निर्माण हुन नसकेपछि उनले ठूलो चुनौती मोलेर ‘खजुरे ब्रो’ रोज्नु परेको थियो । किनकि, यसमा उनीबाहेक चिनिएका अरु कलाकार नै थिएनन् । त्यसले गर्दा सबैभन्दा ठूलो भार नीतिमाथि थियो । तर, प्रचारमै चुकेको फिल्म कथावाचनमा पनि चुक्दा बक्स अफिसमा डुब्न पुग्यो । कतिपय फिल्मको हकमा व्यापार ध्वस्त भए पनि कलाकारको अभिनयको चर्चा हुने गर्छ । तर, ‘खजुरे ब्रो’मा अभिनय प्रभावशाली नहुँदा नीतिले अभिनेत्री बन्ने सपना पूरा भएकोमा मात्रै चित्त बुझाउनु पर्यो । एकातिर फिल्मको असफलता र अर्कोतिर अभिनयको आलोचनाले नीतिको करिअरमै ठूलो प्रश्न उठ्यो ।
तर, डेब्यु फिल्मले उनलाई खासै असर पारेको देखिँदैन । फिल्ममा उनको राम्रो ‘डिमान्ड’ छ । उनले अघिल्लो साता बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को छायांकन पूरा गरेकी छन् । अब चाँडै निर्देशक सविर श्रेष्ठको आगामी फिल्म ‘रुखान’मा काम गर्ने तयारीमा छिन् । उनले ‘क्याप्टेन’ निर्देशक दीवाकर भट्टराईको एक फिल्ममा पनि काम गर्ने सहमति भैसकेको जानकारी प्राप्त छ ।
यसैबीच, उनले यसै साता अर्को फिल्म पनि सम्झौता गरेकी छन् । निर्देशक ओम प्रतिकको आगामी फिल्म ‘मोहर’मा उनी अनुबन्ध भएकी हुन् । यसरी हेर्दा उनलाई फिल्मको अभाव छैन । यो उनका लागि सुखद् पक्ष हो । तर, ‘खजुरे ब्रो’ शैलीको अभिनय उनको करिअरकै लागि घातक बन्न सक्छ । यसैले नीतिले फिल्मको संख्या बढाउनेभन्दा अभिनय सुधारमा बढी मिहिनेत गर्नुपर्ने देखिन्छ ।