सुरक्षा कारबाहीमा चार जना आतङ्कारी मारिए

सुरक्षा कारबाहीमा चार जना आतङ्कारी मारिए
एजेन्सी, साउन २। भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका भारतीय सेनाका अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त अभियान सोमबार पुन्चको सिन्धारा क्षेत्रमा सञ्चालन गरिएको जनाउँदै उनीहरूले राति करिब ११।३० बजे आतङ्ककारीहरूसँग पहिलो मुठभेड भएको बताएका छन् । सोही रात निगरानीका अन्य उपकरणसहित ड्रोन तैनाथ गरिएको थियो ।
मङ्गलबार बिहानैदेखि सुरक्षा बल र आतङ्ककारीबीच भीषण गोली हानाहान भएको थियो । संयुक्त कारबाहीमा मारिएका आतङ्ककारी विदेशी आतङकवादी भएको अनुमान गरिएको छ । उनीहरुको पहिचान स्पष्ट भइनसकेको र थप जानकारीको प्रतीक्षा गरिएको भारतीय सेनाले जनाएको छ ।
गत आइतबार पुन्च जिल्लाको नियन्त्रण रेखा ९एलओसी० मा आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको थियो । आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै एलओसीमा भएको दोहोरो झडपमा दुई जना आतङ्ककारी मारिएका थिए ।
सुरक्षाकर्मीले आतङ्वादीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएका थिए ।
रासस