विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बन्नु हुँदैन

लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्थानीय तहसँग सहकार्य गर्ने नीतिलाई अख्तियार गरी स्थानीय तहसँग अन्तक्र्रिया गरेको छ । स्थानीय तहसँग मिलेर प्रदेशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष लिएको विश्वविद्यालयले सहकार्यका लागि स्थानीय तहसँग हात फैलाएको छ । कार्यक्रममा बोल्ने स्थानीय तहका प्रमुखहरुले विश्वविद्यालयहरुको ध्यान स्वरोजगार जनशक्ति उत्पादनतर्फ जानुपर्ने सुझाएका छन् । जो अत्यन्तै सकारात्मक पक्ष हो । दिनप्रतिदिन युवाशक्ति विदेश पलाएन भइरहेको समयमा विश्वविद्यालयले अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सक्नुपर्ने सुझाएका स्थानीय तहका प्रमुखहरुका जायज सुझावलाई लुम्बिनी प्राविधिक विश्वविद्यालयले अक्षरशः पालना गर्नुपर्दछ भन्ने हाम्रो बुझाइ रहेको छ ।
शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनु आवश्यक छ । हाम्रा विश्वविद्यालयका उत्पादन आत्मनिर्भर नभई परनिर्भर बन्ने क्रम बढिरहेको छ । विद्यार्थीहरुमा दाश मनोवृत्ति बढ्दो छ । स्वदेशमा श्रम गर्न असजिलो मान्ने र विदेशी भूमिका जस्तोसुकै कार्य पनि पछाडि नपर्ने मनोवृत्ति बढेको मात्रै छैन–युवाश्रम शक्ति विदेशीदा गाउँ रित्ता बन्दै गएका छन् । यसले भविष्यप्रति झन् चिन्ता पैदा गरेको छ । यसलाई समयमै रोक्नतर्फ सबैको ध्यान जानु आवश्यक छ । नेपाली माटो सुहाउँदो सीप जागृत गर्ने पाठ्यक्रम निर्माण गर्नतर्फ सबैको विश्वविद्यालयको ध्यान जानु आवश्यक छ ।
विश्वविद्यालय स्वरोजगार जनशक्ति उत्पादनका केन्द्र बन्नुपर्दछ । हाम्रा पाठ्यक्रम विद्यार्थीलाई व्यवहारिक, व्यवसायिक बनाउने खालका हुनुपर्दछ । के पढाउने ? कस्तो उत्पादन गर्ने ? भन्ने प्रश्नको उचित र दीर्घकालिन जवाफ विश्वविद्यालयहरुले व्यवहारमै दिनु आवश्यक छ । कृषिप्रधान मुलुकमा कृषिलाई हेयको भावले हेर्ने परिपार्टीको अन्त्य गरी शैक्षिक जनशक्तिलाई कृषि पेशामा फर्काउने दायित्व विश्वविद्यालयले बहन गर्नुपर्दछ । जागिरका लागि मात्रै शिक्षा नभई व्यवहार परिवर्तनका लागि पनि शिक्षा हो भन्ने मनोदशा विद्यार्थीमा पलाउनु जरुरी छ । विदेशी दन्त्य कथा र आधुनिक शहर र त्यहाँको भद्दा जीवनशैली पढाउनुको साटो विद्यार्थीहरुलाई कृषि उत्पादन र कृषि जीवनशैलीका बारेमा पठाउँदा आत्मनिर्भरता सुरुवात हुन्छ भन्ने बुझाइ हाम्रो रहेको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्ना पाठ्यक्रमलाई यसतर्फ केन्द्रीत गर्नु आवश्यक छ । कृषि, वन, इञ्जिनियरिङका कक्षा सञ्चालनको तयारीमा रहेको विश्वविद्यालयले विश्वस्तरको शिक्षा प्रदान गर्नुका साथै नेपाली माटो सुहाउँदो शिक्षा प्रदान गर्नुपर्दछ । विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बने भन्ने भाष्यलाई गलत सावित गर्नुपर्दछ । यसतर्फ विश्वविद्यालयको ध्यान जाओस् । हाम्रो यही शुभेच्छा छ ।