लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पहल सुरु

सन्तोषकुमार गुप्ता
दाङ, असार २१ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएको छ । एमालेले लुम्बिनीमा सरकार छोडेपछि राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएको हो ।
यसैबीच नेकपा एमाले लुम्बिनी प्रदेशसभा ससदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको र मन्त्रीहरु समेत राजिनामा दिएको बिषयमा औपचारिक जानकारी गराउनु भएको छ ।
प्रमुख सचेतक चौधरीले जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी पत्र बुझाएको बताउनुभयो । प्रमुख सचेतक चौधरीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह समेत गरिएको बताउनुभयो ।
प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले उक्त जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरुप आवश्यक कागजात तयार पारिने बताउनुभयो । प्रदेश प्रमुख शेरचन उपचारका लागि केही दिनदेखि काठमाडौँमा रहेको उहाँका स्वकीय सचिव बसन्त भट्टचनले जानकारी दिनुभयो ।