लुम्बिनीका मुख्यमन्त्री राजिनामा दिने कि विश्वासको मत लिनेमा अलमलमा
सन्तोषकुमार गुप्ता
दाङ, असार ३० । लुम्बिनी प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा पर्नु भएको छ । केन्द्रीय राजनीतिमा आएको संकटले लुम्बिनी प्रदेश सरकार ढल्ने भएपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अवलम्बन गर्नु भएको छ ।
राजीनामा दिने या विश्वास मतको सामना भन्ने विषयमा अझै एक, दुई दिन पर्खेर हेर्ने रणनीति लिएको मुख्यमन्त्री महराको सचिवालयले जनाएको छ । केन्द्रको सिनारियो अझै एक दुई दिन हेरेपछि दुई विकल्प मध्ये एउटा निर्णयमा पुग्ने मुख्यमन्त्री महराले बताउनुभयो । तर, यो अन्योलता भने धेरै दिन लम्ब्याउने पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो ।
लुम्बिनी प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । केन्द्रमा फेरिएको दलीय समीकरण अनुसार लुम्बिनी प्रदेशमा माओवादी सरकारले विश्वासको मत पाउने देखिँदैन । महरा ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । महरालाई साथ दिएका एमालेका २७ र जसपाका ३ सांसदले समर्थन फिर्ता लिएका छन् । लुम्बिनीमा जम्मा ८७ सिट छ ।
बहुमत पु¥याउनका लागि ४४ सिट चाहिन्छ । केन्द्रमा भएको दलीय समीकरण अनुसार कांग्रेस र एमालेको सहज बहुमत पुग्ने देखिन्छ । दुवै दलका ५६ प्रदेश सभा सदस्य छन् । अहिले कांग्रेस र एमालेबाट मन्त्री बन्न खोज्नेहरुले नेताको दैलो धाउन थालेको बताएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?