दाङ, साउन १५ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले राजनीतिक स्थायित्वका लागि एमाले र काँग्रेसका बिच सत्ता सहकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले भन्नुभयो, ‘मुलुकको समृद्धि र विकासका लागि राजनीतिक स्थायित्वको महसुस गरी मुख्य दल एमाले र कांग्रेसका बिच सत्ता साझेदारी सुरु भएको हो ।’
अस्थिरताका कारण लोकतन्त्र खतरामा पर्दै गएको महासचिव पोख्रेलले लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेसको सहकार्य अपरिहार्य भएको बताउनुभयो । राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा भएकोमा चौतर्फि चिन्ता र चासो बढिरहेको बताउँदै महासचिव पोख्रेलले संविधान संशोधनको आवश्यकता समेत महसुस भएको दावी गर्नुभयो । ‘परिवर्तनप्रति जनविश्वास गुम्दै गइरहेको समयमा जिम्मेवार दलहरुका बिचमा भएको छलफलबाट वर्तमान गठबन्धन कायम भएको हो’, महासचिव पोख्रेलले भन्नुभयो, ‘संविधान संशोधनसम्मको बाटो तय गरेर सत्ता साझेदारी सुरु गरिएको छ । मुलुकको स्थायित्वका लागि प्रमुख दलहरु एक ठाउँमा आएका छौं । जनताले महसुस गर्नेगरी काम गरेर सरकारले देखाउने छ ।’
राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै महासचिव पोख्रेलले थ्रेसहोल्डलाई प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभयो । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोख्रेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिडेको बताउनुभयो ।
‘राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था सुधार्न आवश्यक रहेको छ’, महासचिव पोख्रेलले भन्नुभयो, ‘पार्टीहरू उम्मेदवार हुँदा डेढ प्रतिशत भोट ल्याएपछि प्रादेशिक पार्टी हुने र तीन प्रतिशत मत ल्याएमा राष्ट्रिय पार्टी हुने व्यवस्था सही हुँदै होइन । व्यक्तिले दश प्रतिशत मत ल्याएन भने जमानत जफत हुन्छ । निर्वाचन कानुनको यो व्यवस्था मिलेको छ त ? छैन नि ।’
त्यही चिज सुधार गर्नका लागि साना पार्टी रिसाउँछन् भन्ने कुराको तुक नरहेको भन्दै महासचिव पोख्रेलले लोकतन्त्रलाई सही बाटोमा लैजानका लागि साना दल हैन बरू जनता रिसाउँछन् भन्न सक्नुपर्ने बताउनु भयो । लोकतन्त्रको स्थायित्वका लागि दलहरू जिम्मेवार र बलिया हुनुपर्ने उहाँको कथन थियो । त्यसैका लागि प्रमुख दुई दलहरू मिलेको उहाँले बताउनु भयो ।
साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीतिक दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलको भनाइ थियो । फरक प्रसंगमा महासचिव पोख्रेलले वामपन्थीहरूका बीचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताउनुभयो ।
‘कम्युनिस्ट पार्टी एकताको प्रहसन अब दोहोरिँदैन’, उहाँले भन्नुभयो, ‘बरू कम्युनिस्ट विचारको एकता आवश्यक हो ।’ नेताको टाउको जोडेर गरिने एकता दिगो नहुने कथा व्यहोरिसकेको भन्दै अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरूरी रहेको उहाँले तर्क गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै महासचिव शंकर पोख्रेलले समृद्धि र विकासका लागि राजनीतिक दलहरु मात्र नभएर सञ्चार संगठनहरु पनि गोलबद्ध हुनुपर्ने बताउनु भयो । दाङमा रहेर सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशिल ६ जना पत्रकारहरुलाई प्रेस चौतारीमा प्रवेश गराउँदै पूर्व सञ्चारमन्त्री समेत रहनु भएका महासचिव पोख्रेलले राजनीतिक स्थायित्वका लागि दुईध्रुबमा नेपालको राजनीति बाँड्ने अभियानमा आफूहरु रहेको बताउँदै सञ्चार क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन सञ्चार क्षेत्र पनि ध्रुबीकृत हुनुपर्ने बताउनुभयो ।
प्रेस चौतारीले समग्र सक्रिय वामपन्थी पत्रकारहरुको अगुवाई र नेतृत्व गर्नुपर्ने धारणा राख्दै चौतारीमा प्रवेश गर्ने सञ्चारकर्मीहरुले सामाजिक रुपान्तरणका लागि योगदान पु¥याउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । जिल्लामा स्वतन्त्ररुपमा पत्रकारिता गरिरहनु भएका विपिनमणि आचार्य, अनुप आचार्य, सन्दिप भुसाल, मोहम्मद जैद फारुकी, दिवस देवकोटा, जाबेद अखतरलाई चौतारीमा स्वागत गर्नेक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महासचिव पोख्रेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनलगायतका नेताहरुले टीका, खादालगाएर चौतारीमा स्वागत गर्नुभएको थियो ।
चौतारीमा प्रवेश गर्ने सञ्चारकर्मीहरुलाई चौतारीको सदस्यता समेत सोही अवसरमा प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले चौतारीमा प्रवेश गर्नुभएका सञ्चारकर्मीहरुको क्षमता विकाससँगै उहाँहरुलाई सांगठनिक जिम्मेवारी पनि छिटै नै प्रदान गरिने जानकारी गराउनु भएको थियो । कार्यक्रम चौतारीका जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव किरण गौतमले गर्नु भएको थियो ।