१६ मंसिर २०८१, आइतबार
1 December , 2024,Sunday

एउटै बलियो कम्युनिष्ट शक्ति निर्माणको दिशामा लाग्नुपर्छ–महासचिव

काठमाडौँ, साउन २८ । नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई महासचिव शंकर पोखरेलले सोमबार पार्टी कार्यालयमा स्वागत गर्नु भयो ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनसँगको लामो वार्ता, छलफल र सम्वादपछि शर्मा एमाले प्रवेश गर्नुभएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार शर्मा तत्कालिन क्रान्तिकारी पत्रकार संघ दाङको सदस्य, प्रेस सेन्टरको सचिव हुँदै अध्यक्षको जिम्मेवारीमा पाउनुभएको थियो ।

प्रवेश गरेका शर्माले एमाले नै कम्युनिष्टको मूल नेतृत्व भएकाले माओवादी त्यागेर आएको बताउनुभयो । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले शर्मालाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने बताउनुभयो ।

उक्त अवसरमा बोल्दै नेकपा (एमाले) का महासचिव पोखरेलले माओवादी आन्दोलनले जन्माएका नेताहरु ढिलो–चाँडो एमालेमा नै आउने दाबी गर्नुभयो । नेपालको सन्दर्भमा अब अलग–अलग वामपन्थी पार्टीहरु बनाइरहनु आवश्यक नरहेको उहाँको भनाइ थियो । ‘मुलुकको कम्युनिष्ट शक्तिको नेतृत्व एमालेले गर्छ । कम्युनिष्ट शक्तिहरुलाई गोलबन्ध गर्दै अगाडि बढ्ने एमालेको नीति रहेको छ’, महासचिव पोख्रेलले भन्नुभयो, ‘अलग–अलग कम्युनिष्ट पार्टी बनाएर काम छैन । एउटै कम्युनिष्ट पार्टी निर्माणको दिशामा हामी लागिपरेका छौं ।’

एमालेलाई नै सुदृढ बनाएर लैजानुपर्ने भन्दै महासचिव पोख्रेलले सम्पूर्ण बामपन्थी नेताहरु पनि ढिलो–चाँडो एमालेमै आउने बताउनु भयो । ‘एउटै बलियो वामपन्थी केन्द्रका रुपमा एमालेलाई सुदृढ गर्नुपर्छ । ढिलो चाँडो माओवादी आन्दोलनबाट आउनुभएका साथीहरु पनि आउने ठाउँ यही हो’, उहाँले भन्नुभयो । उक्त अवसरमा नेकपा (एमाले) का सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य जीवन गौतम, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासन, महासचिव हिरामान लामालगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?