लुम्बिनी प्रदेशमा कोटेशन प्रणाली पूर्ण अन्त्य हुन्छ–मुख्यमन्त्री आचार्य
दाङ, साउन ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले कोटेशन प्रणालीलाई पूर्णरुपमा अन्त्य गर्ने बताउनु भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयको समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “कोटेशन प्रणाली नरोकिदासम्म प्रदेशले परिणाम दिन सक्दैन भन्ने सरकारको मान्यता रहेको छ । यसकारण यसै आर्थिक वर्षदेखि कोटेशन प्रणाली पूर्णरुपमा अन्त्य हुन्छ ।”
प्रतिष्प्रधा बिना कुनै पनि योजना अगाडि बढाउन नहुने बताउँदै मुख्यमन्त्री आचार्यले हरेक योजनालाई टेण्डर प्रणालीबाट अगाडि बढाउन निर्देशन दिनु भयो । “हरेक योजनालाई प्रतिष्प्रधात्मक तरिकाले अगाडि बढाउनुपर्दछ । ५ लाख, १० लाख, १५ लाख र २० लाखका टुक्रे योजनालाई झण्झट नमानेर टेण्डर प्रक्रियाबाट अगाडि बढाउनुहोस्”, मुख्यमन्त्री आचार्यले कर्मचारीलाई निर्देशन दिँदै भन्नु भयो, “टुक्रे योजनालाई जोडेर भए पनि प्रतिष्प्रधात्मक प्रणालीबाट योजना सम्पन्न गर्नुहोस् । परिणाम निस्कने गरी काम गर्नुहोस् ।”
लगानीको प्रतिफल निस्कने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री आचार्यले विकाससँग जनतालाई जोड्नुपर्ने बताउनु भयो । प्रदेश सरकारका कुनै योजनाले आफूहरुलाई गिज्याइरहेको भन्दै उहाँले टुक्रे र छरपष्ट योजनाले प्रदेशको विकास हुन नसक्ने हुँदा आगामी वर्षदेखि टुक्रे योजना प्रवेशमा रोक लगाउने दाबी गर्नु भयो । सरकारको योजना चयन प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताउँदै मुख्यमन्त्री आचार्यले सरकारले आगामी वर्षदेखि योजना चयन प्रक्रियालाई परिवर्तन गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।
प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले सोही गुरुयोजनाकै आधारमा आगामी वर्षदेखि बजेट विनियोजन गर्ने बताउनु भयो । “प्रदेश सरकारले सडक गुरुयोजना निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । अब तपाईँहरुले जिल्ला समन्वय समिति, पालिका प्रमुख र राजनीतिक दलसँग गुरुयोजनाका बारेमा बृहत छलफल गर्नुहोस्”, “यही गुरुयोजना अनुसार नै प्रदेशले बजेट विनियोजन गर्ने तयारी गरेको बारे जानकारी दिनुहोस् । यो काम एक डेढ महिनामै सम्पन्न गर्नतर्फ लाग्नुहोस् ।”
प्रदेशको सडक गुरुयोजना नहुँदा सरकारले कुनै पनि उपलब्धी हासिल गर्न नसकेको बताउँदै उहाँले भन्नु भयो, “गुरुयोजना बिनाको लगानी खेर गयो । हामीले पहुँच मार्ग बनाउने भन्यौं । ३३ वटा पहुँच मार्गबाट लगानी सुरु गरेका थियौं । सबै सडकको कालोपत्रेसम्म गर्ने भनेका थियौं । हालसम्म मुस्किलले २÷ ४ वटा सडक मात्रै निर्माण सम्पन्न भएका छन् ।”
उक्त अवसरमा बोल्दै भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले व्यवस्थित योजना बनाएर मन्त्रालय अगाडि बढ्ने बताउनु भयो । प्रदेश सरकारको सबैभन्दा ठूलो परिमाणको बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मामा प्रदेशको विकास र समृद्धि जोडिएकाले गुणस्तरिय निर्माणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिनु भयो । कर्मचारीहरुको कार्यशैलीले विकासमा प्रभाव पार्ने हुँदा जनमैत्री भएर काम गर्न निर्देशन मन्त्री ढकालले निर्देशन दिनु भयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?