लुम्बिनीमा एमाले उपनेता आचार्य मुख्यमन्त्री नियुक्त

दाङ, साउन ८ । लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । संसदीय दलको नेता नै मुख्यमन्त्री नियुक्त हुने यसअघिको अभ्यास रहे पनि पार्टी केन्द्रको निर्देशनमा लुम्बिनीमा उपनेता आचार्य मुख्यमन्त्री भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अर्घाखाँची १ (१) बाट निर्वाचित आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थन छ । आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएपछि एमाले संसदीय दल नेता रहेका लीला गिरी भने असन्तुष्ट देखिएका छन् ।
माओवादीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि सोमबार गिरीका नाममा दाबी पेस गर्ने तयारी थियो । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पनि त्यहीअनुसारका कागजपत्र जुटाएका थिए । तर सोमबार ११ बजे एमाले महासचिव शंकर पोखरेलले प्रमुख सचेतक चौधरीलाई फोन गरेर पार्टीको निर्णय र यसअघिको समझदारीअनुसार आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न निर्देशन दिएका थिए । उनले प्रदेश अध्यक्ष कँडेललाई पनि फोन गरेर त्यही निर्णय सुनाएका थिए ।
संसदीय दल नेता गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र उपनेता आचार्य महासचिव पोखरेल निकट मानिन्छन् । रूपन्देहीबाटै निर्वाचित पौडेल संघीय सरकारमा अर्थमन्त्री रहेको र मुख्यमन्त्री पनि एउटै क्षेत्रको बनाउँदा भौगालिक सन्तुलन नमिल्ने भएकाले आचार्यलाई रोजिएको एमालेका केही नेताको तर्क छ, केहीले भने महासचिव पोखरेलले आफ्नो शक्तिका लागि उपनेतालाई अघि सारेर गुटबन्दी गरेको आरोप लगाएका छन् । एमाले नेताहरूले भने संसदीय दल नेता चयनकै क्रममा गिरी र आचार्यको दाबी परेपछि पहिलो चरणमा गिरी र दोस्रो चरणमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सार्ने गरी भएको सहमति अहिले कार्यान्वयन गरिएको दाबी गरेका छन् ।