१६ मंसिर २०८१, आइतबार
1 December , 2024,Sunday

देशलाई गरिबीबाट मुक्ति नदिँदासम्म समृद्धि हासिल हुँदैन–प्रधानमन्त्री ओली

काठमाडौँ, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा नहुने बताउनुुभएको छ ।
‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुुभयो ।

“मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हालै संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको पहिलो साता राष्ट्रसंघको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछुु । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानवअधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट गर्नुभयो । “म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’’ प्रधानमन्त्री ओलीको अठोट थियो ।

प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने बताउनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?