१६ मंसिर २०८१, आइतबार
1 December , 2024,Sunday

विद्यार्थीहरु विदेशिनु विश्वविद्यालयको गल्ती होइन– शिक्षामन्त्री भट्टराई

काठमाडौँ, साउन २६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीहरु विदेशीनुमा विश्वविद्यालयको गल्ती नभएको दाबी गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय एल्मुनाई एशोसिएशन नेपालको ५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले भन्नुभयो, “विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको मात्र गल्ती होइन, रोजगारीको अभाव हो । यसको साथै नेपालको राजनीतिक अस्थिरताका कारण यहाँ केही हुँदैन भन्ने निराशा पनि विद्यार्थी विदेशीनुको कारण हो ।”

राजनीतिक स्थिरता नभएसम्म मुलुकको समस्या यथावत रहने बताउँदै मन्त्री भट्टराईले अस्थिरताको प्रभावले देश छोड्ने विद्यार्थी संख्या बढिरहेको बताउनुभयो । “मुलुकमा शिक्षा पाउन सकिदैन् भन्ने खालको बहस छलफल हामी जति गर्छौं त्यति नै यहाँ विद्यार्थीहरु बस्न सक्दैनन् । हामी एकातिर विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनेर भन्छौं, अर्कोतिर हरेक समस्याको कारण राजनीति हो भनेर भन्छौं यो दुविधायुक्त कुराले पनि युवालाई निरुत्साहित गरिरहेको छ ।”

नीतिमा टेकेर काम गर्ने अवस्था नआएसम्म स्वचालित शिक्षालगायत मुलुकमा व्याप्त समस्या समाधान नहुने मन्त्री भट्टराईको भनाइ थियो । “हरेक क्षेत्र आफैंमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छौं, भने त्यो क्षेत्रका नीति र कानुन चाहिन्छ । यसको साथै त्यसलाई परिचालन गर्नका लागि राजनीतिक संयन्त्र र नेतृत्वहरु सशक्त र क्रियाशील हुनुपर्छ । तर, आजसम्म हस्तक्षेपकारी नीति नहुँदा हाम्रा संस्थाहरु दुर्बल भइरहेका छन्”, मन्त्री भट्टराईले भन्नुभयो, “नीतिले हस्तक्षेप गर्नुपर्ने हो । नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा दलको व्यक्तिले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको छ, यसको कारण आजको परिणाम आएको हो भन्ने कुरा स्वीकार गर्न सक्नुपर्छ ।”
सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने बताउँदै मन्त्री भट्टराईले भन्नुभयो, “हामीले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्छ । विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरुसँग जोड्न सक्नुपर्छ । विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने ? त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने ? भन्ने कुरामा गम्भिर हुन आवश्यक छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?